ओली-नेपाल पक्षका नेताहरूको बैठक सकियो, मंगलबार सचिवालय बैठक
काठमाडौं, वैशाख १५ : पछिल्लो समयमा सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) भित्र देखिएको आन्तरिक विवाद मिलाउन नेताहरुबीचको अनौपचारिक छलफलले तीव....

काठमाडौं, वैशाख १५ : पछिल्लो समयमा सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) भित्र देखिएको आन्तरिक विवाद मिलाउन नेताहरुबीचको अनौपचारिक छलफलले तीव्रता पाएको छ।
पार्टीका २० स्थायी कमिटी सदस्यले सरकार र पार्टी नेतृत्वको समीक्षाका लागि तत्काल स्थायी कमिटी बैठकको माग गरिरहेका बेला समाधानका लागि शीर्ष नेताका साथै मध्यमार्गी अन्य नेताहरुको पनि सक्रियता देखिएको हो। नेताहरुको अनौपचारिक छलफल चलिरहेका बेला मङ्गलबारका लागि पार्टीको स्थायी कमिटी बैठक आव्हान गरिएको छ। सचिवालय बैठकमा सहमति हुन नसकेका विषय स्थायी समिति वा केन्द्रीय कमिटीमा लगिनेछ।
समस्या समाधानका लागि प्रधानमन्त्री एवं अध्यक्ष केपी शर्मा ओली, अर्का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’, वरिष्ठ नेता माधवकुमार नेपाल र अन्य नेताहरुबीच एक्लाएक्लै र समूहगतरुपमा अनौपचारिक छलफल चलिरहेको छ। उनीहरु निकट पूर्व समूहका दोस्रो तहका नेताहरु पनि समाधानका लागि सक्रिय भएका छन्।
सरकारले पछिल्लो समयमा राजनीतिक दलसम्बन्धी र संवैधानिक परिषद्को कार्यक्षेत्र संशोधनसम्बन्धी अध्यादेश जारी र खारेज गराएको, पार्टी एकताका बाँकी कामले पूर्णता नपाएको, उपाध्यक्ष वामदेव गौतमलाई राष्ट्रियसभा सदस्यमा मनोनयन नगरिएको लगायत सन्दर्भमा नेकपाभित्र विवाद देखिएको हो।
असन्तुष्ट नेताहरुले सरकारले पार्टीको समन्वयमा काम गर्नुपर्ने आवाज उठाउँदै आएका छन् भने सरकारको नेतृत्वमा रहेका नेताहरुले पार्टीले सरकारलाई सघाउनुपर्नेमा जोड दिएका छन्। सोमबारै अध्यक्ष दाहाल र वरिष्ठ नेता झलनाथ खनालबीच दाहाल निवास खुमलटारमा पार्टीको आन्तरिक विवादका विषयमा छलफल भएको छ।
समस्या समाधानका लागि सोमबार वरिष्ठ नेता नेपाल र अन्य केही नेताहरुबीच काठमाडौँमा अनौचारिक छलफल भएको छ। छलफलमा सहभागी स्थायी कमिटी सदस्य रघुजी पन्तले आफूहरुले उत्पन्न गतिरोध चाँडै अन्त्य गराउन र पार्टीलाई एक ढिक्का बनाएर जान सुझाव दिइनुका साथै स्थायी कमिटीको बैठक चाँडो राख्न जोड दिइएको बताए।
समाधानका लागि शीर्ष नेताहरुबीच शक्ति बाँडफाँटको तयारी हो भन्ने प्रश्नमा नेता पन्तले भने, “निकासका लागि प्रधानमन्त्री एवं अध्यक्ष ओलीले नै पहल गर्नुपर्छ। गतिरोध चाँडो अन्त्य हुनुपर्छ।” कतिपय नेताले पार्टी र सरकारका एक व्यक्ति एक पद हुनुपर्ने प्रस्ताव पनि राखेका छन् भने निर्वाचनबाट स्थिरता र विकासका लागि नेकपाले जनादेश लिएकाले एकताबद्ध भई काम गर्नुको विकल्प नभएको जनाएका छन्।
छलफलमा सचिवालय सदस्य एवं उपप्रधानमन्त्री ईश्वर पोखरेल, महासचिव विष्णु पौडेल, स्थायी कमिटी सदस्यहरु भीमबहादुर रावल, प्रदीप ज्ञवाली, शङ्कर पोखरेल, सुरेन्द्र पाण्डे र पन्त सहभागी थिए।
यसअघि बालुवाटारमा सोमबारै भएको भेटमा वरिष्ठ नेता नेपालले शक्ति बाँडफाँड, पार्टीभित्रको विवाद लगायतका विषयमा प्रधानमन्त्री ओलीसँग छलफल गरेका थिए। दुई नेताबीचको छलफलपछि दुवै समूहका शीर्ष नेताहरुबीचको बैठक बोलाइएको थियो।
नेपाल पक्षले अध्यक्ष ओलीले प्रधानमन्त्री वा पार्टी अध्यक्षमध्ये एक पद छोड्नु पर्ने माग राख्दै आएको छ भने ओली समूहले नेपाल समूहलाई पार्टी र सरकारमा उचित स्थान दिने बताउँदै आएको छ। रासस

-1792762148.jpeg)





-1792762148.jpeg)



