‘एचपिभी’ खोपबारे फैलाइएका भ्रममा विश्वास नगर्न आग्रह
पाठेघर मुखको क्यान्सरविरुद्धको ‘एचपिभी’ खोपबारे फैलाइएका भ्रममा विश्वास नगर्न आग्रह गरिएको छ ।-ink-1738680967.jpeg)
काठमाडौं, माघ २९ : पाठेघर मुखको क्यान्सरविरुद्धको ‘एचपिभी’ खोपबारे फैलाइएका भ्रममा विश्वास नगर्न आग्रह गरिएको छ ।
स्वास्थ्य सेवा विभाग, परिवार कल्याण महाशाखाको बाल स्वास्थ्य तथा खोप शाखा प्रमुख डा अभियान गौतमले खोपसम्बन्धी केही नकारात्मक भ्रम फैलाइएकाप्रति ध्यानाकर्षण भएको जनाउँदै त्यसमा विश्वास नगर्न आग्रह गरे।
‘खोप विश्व स्वास्थ्य सङ्गठनले सुरक्षित र प्रभावकारी भनेर पुष्टि गरिसककेको छ । कतिपयले परीक्षणका लागि खोप लगाइएको भनेर भ्रम छरिरहेका छन्, त्यो सत्य होइन । यो सुरक्षित र प्रभावकारी भएकाले ढुक्कले लगाउन अनुरोध छ,’ उनले भने।
फागुन ६ गतेसम्म चल्ने अभियानका क्रममा एक साताको अवधिमा देशभर ६२ प्रतिशत खोप ‘कभरेज’ देखिएको समेत शाखा प्रमुख गौतमले जानकारी दिए।
‘खोपबाट कोही नछुटुन् भन्ने हाम्रो लक्ष्य हो । अभियान सन्तोषजनक रूपमा चलिरहेको छ । खोप लगाएकाहरूमा सामान्य ज्वरोबाहेक नकारात्मक असर देखिएको छैन,’ उनले भने।
डा. गौतमकाअनुसार आजसम्म देशभर १० लाख ३७ हजार नौ सय आठ जनाले खोप लगाएका छन् । विद्यालय केन्द्रित यो निःशुल्क खोप अभियान माघ २२ गतेदेखि सुरु गरिएको हो।
प्राप्त जानकारीअनुसार कोशी प्रदेशमा ७१ दशमलव एक प्रतिशत, मधेसमा ४१ दशमलव चार, बागमतीमा ६० दशमलव आठ र गण्डकीमा ७१ दशमलव तीन प्रतिशत खोप लगाइएको छ । यसैगरी लुम्बिनी प्रदेशमा ६८ दशमलव छ, कर्णालीमा ६३ दशमलव छ, सुदूरपश्चिममा ७५ दशमलव १ प्रतिशत र सुदूरपश्चिम प्रदेशमा ७५ दशमलव १ प्रतिशत खोप कभरेज भएको शाखाको उपलब्ध तथ्याङ्कमा छ ।
स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले करिब १७ लाख अर्थात् १६ लाख ८८ हजार सात सय ६८ जना किशोरीलाई खोप दिने लक्ष्य राखेको छ । विद्यालयमा अध्ययन गर्ने कक्षा छदेखि १० सम्मका छात्रा र विद्यालय नजाने १० देखि १४ वर्ष उमेरका किशोरीलाई खोप दिइँदैछ ।












