Kathmandu Press

ठमेलमा प्रहरी कुट्ने एमाले कार्यकर्तालाई ओली सरकारले उन्मुक्ति दियो: ज्ञानेन्द्र शाही

'नेपाल प्रहरीको बर्दी लगाएकाहरुलाई जाँड खाएर बाटो बाटो कुट्न ओली सरकारले छुट दिएको हो ?,' उनले प्रश्न गरे। 
ठमेलमा प्रहरी कुट्ने एमाले कार्यकर्तालाई ओली सरकारले उन्मुक्ति दियो: ज्ञानेन्द्र शाही

काठमाडौं, माघ २९ : विपक्षी दल राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का प्रमुख सचेतक ज्ञानेन्द्र शाहीले सरकारले ठमेलमा प्रहरीमाथि कुटपिट गर्ने एमाले कार्यकर्ताहरूलाई उन्मुक्ति दिएको आरोप लगाएका छन्। 

मंगलबार प्रतिनिधि सभा बैठकमा बोल्दै शाहीले ठमेलमा एमालेनिकट अनेरास्ववियुका नेता कमलराज सापकोटासहितको टोलीले प्रहरीमाथि कुटपिट गरेपनि उनीहरूले उन्मुक्ति पाएको बताएका हुन्। 

'नेपाल प्रहरीको बर्दी लगाएकाहरुलाई जाँड खाएर बाटो बाटो कुट्न ओली सरकारले छुट दिएको हो ?,' उनले प्रश्न गरे। 

'विधिको शासन छैन? गरिबको छोराछोरीले खाने जागिर बनेको छ नेपाल प्रहरी। उनीहरूमाथि दमन गर्न पाइन्छ? तत्काल कारबाही गरियोस्,' शाहीले अगाडि भने। 

शाहीले १४ वर्षीया बालिकालाई घरेलु कामदारका रूपमा ६ वर्षसम्म बन्धक बनाइ शारीरिक यातना दिएर एमालेकी लुम्बिनी प्रदेश सांसद रेखा शर्मा सत्ताको निगाहामा उन्मुक्ति पाएको आरोप लगाए। 

'बालबालिकासम्बन्धी ऐन अनुसार १ लाख रूपैयाँ जरिवाना र पाँच वर्ष कैद हुन्छ। कानुन दुइटा बनाउनुस्; एउटा  ओली सरकारको कानुन।ओली सरकारको ट्याग लाग्यो भने बलात्कार गरेपनि यो देशमा खुल्लम खुल्ला हिँड्न पाइन्छ। अर्को बोलेकै आधारमा कुट्न पाइन्छ थुन्न पाइने कानुन,' उनले भने। 

 

प्रकाशित मिति: १८:२८ बजे, मंगलबार, माघ २९, २०८१
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्