कांग्रेस सांसद रामहरि खतिवडालाई नियमावलीविपरीत बोल्न दिइएको भन्दै संसदमा अवरोध
नियमावलीविपरीत सत्तापक्ष नेपाली कांग्रेसका सांसद रामहरि खतिवडालाई बोल्न दिइएको भन्दै प्रतिनिधि सभामा विपक्षी दलहरूका सांसदहरुले विरोध जनाएका छन्।
काठमाडौं, माघ २९ : नियमावलीविपरीत सत्तापक्ष नेपाली कांग्रेसका सांसद रामहरि खतिवडालाई बोल्न दिइएको भन्दै प्रतिनिधि सभामा विपक्षी दलहरूका सांसदहरुले विरोध जनाएका छन्।
मंगलबार प्रतिनिधि सभामा शून्य र विशेष समय सकिइसक्दा पनि सांसद खतिवडाले बोल्नका लागि समय मागेका थिए। उपसभामुख इन्दिरा राना मगरले सांसद खतिवडालाई एक मिनेटमा सक्न भनेर बोल्न दिएका थिए।
उनले सरकारबाट प्रहरी दुरूपयोग भन्ने विपक्षी दलका सांसदहरुको अभिव्यक्तिको कटाक्ष गरेका थिए।
त्यस्तै अदालतमा न्यायाधीश बहस सकेर निस्कँदा कुटिएकोदेखि अदालतमा सुनुवाइ हुँदै गर्दा बाहिर नाराबाजी गरिएकोसम्मका विषयवस्तु प्रस्तुत गरेका थिए।
त्यसपछि रास्वपा सांसद गणेश पराजुलीले खतिवडालाई कुन नियमावलीअनुसार बोल्न दिइएको भनि प्रश्न गरे र विरोध जनाए।
त्यसपछि रास्वपाका सांसदहरू सबै उठेर विरोध जनाएका थिए। उपसभामुख रानाले पटकपटक बस्न आग्रह गर्दा पनि रास्वपाका सांसदहरू नबसेपछि प्रमुख प्रतिपक्षी दल नेकपा (माओवादी केन्द्र)का प्रमखु सचेतक हितराज पाण्डे बोले।
उनले सत्तापक्षी सांसदलाई कुन नियमावलीका आधारमा बोल्न दिइएको हो भन्ने प्रश्न गरे र उत्तर नआउन्जेलसम्म विरोध जारी रहने बताए। त्यसपछि माओवादी केन्द्रका सांसदहरू पनि कुर्सीबाट उठेका थिए।
त्यसपछि सभामुख देवराज घिमिरे सभामुखको कुर्सीमा फर्किए। उनले शून्य र विशेष समय सकिएपछि पनि सत्तापक्षका सांसद रामहरि खतिवडालाई कुन नियमावलीअनुसार बोल्न दिइएको र त्यसमा भएको के हो तथा यस्तोमा के गर्न सकिन्छ भन्ने आदेश सचिवालयलाई भइसकेका कारण विपक्षी सांसदहरूलाई बस्न आग्रहर गरे।
तर विपक्षी सांसदहरुले विरोध जारी राखेपछि सभामुखले बैठक १५ मिनेटका लागि स्थगित गरेका थिए।
१५ मिनेटका लागि स्थगित भएको बैठक १ घन्टा २५ मिनेटपछि सुरू भएको थियो।












