संसदीय समितिमा उद्योग मन्त्री र सांसदबीच चर्काचर्की

काठमाडौं, माघ २९ः राष्ट्रियसभा अन्तर्गतको संघीयता सबलीकरण तथा राष्ट्रिय सरोकार समितिमा उद्योग मन्त्री दामोदर भण्डारी र सांसदबिच चर्काचर्की चलेको छ।
समितिको बैठकमा पुगेका उद्योग मन्त्री भण्डारीले सिमेन्टको मूल्य बढ्नुमा आफ्नो कुनै हात नरहेको र लोडसेडिङ बढ्दा मूल्य वृद्धि भएको बताएपछि नोकझोक चलेको हो। मन्त्री भण्डारीले लोडसेडिङमा विद्युत् प्राधिकरणले सेड्युल दिएको बताउँदै बैठकमा बोलाउन भनेका थिए। उनले मूल्यवृद्धि भएको बेलामा कति लोडसेडिङ छ भन्ने विषयमा गुगलमा सबैले हेर्न सकिने पनि बताए।
‘अपर तामाकोशी सञ्चालन नहुँदा लोडसेडिङ बढेको भन्ने विद्युत् प्राधिकरणले नै स्वीकार गरेको छ। मूल्यवृद्धि गर्नुमा सरकारको हात छैन,’ मन्त्री भणरीले भनेका थिए।
भण्डारीको यस्तो भनाई सुनेपछि सांसद गोपीबहादुर सार्की अछामीले आक्रोसित हुँदै मन्त्री भण्डारीलाई विद्युत् प्राधिकरणको विषयमा समितिमा तर्क नगर्न भने। उनले मन्त्री भण्डारीलाई विद्युत् प्राधिकरणमै गएर यस्तो तर्क गर्न भने। अर्की सांसद राजेन्द्रलक्ष्मी गैरेले पनि मन्त्री भण्डारीलाई सम्बन्धित विषयमा केन्द्रित रहेर कुरा राख्न भनेकी थिइन्।
उनले मन्त्री भण्डारीलाई प्रश्न गर्दै भनिन्, ‘सिमेन्टको मूल्य बढेको छ। यो मूल्य बढ्नुमा सरकारको हात नभएर सांसदहरूले मूल्य वृद्धि गरेको हो त?’
दोहोरो भनाभन हुने अवस्था उत्पन्न भएपछि समितिका सभापति सोनाम गोल्जेन शेर्पाले मन्त्री भण्डारीलाई विषयवस्तुमा केन्द्रित रहेर कुरा गर्न निर्देशन दिनुपरेको थियो।












