भ्रष्टाचार विधेयक माथिको छलफल कार्यसूचीबाट संसदमा चर्काचर्की
अन्तिम समयमा सककारले विधेयकमाथिको छलफल संसदको कार्यसूचीबाट हटाएपछि बैठकमा सत्तपक्ष र प्रतिपक्षबीच चर्काचर्की परेको छ।
काठमाडौं, माघ २९ : आज प्रधिनिधिसभा बैठकमा भ्रष्टाचार निवारण (पहिलो संशोधन) विधेयक, २०८१ माथि छलफल गर्ने कार्यसूची थियो।
तर, अन्तिम समयमा सककारले विधेयकमाथिको छलफल संसदको कार्यसूचीबाट हटाएपछि बैठकमा सत्तपक्ष र प्रतिपक्षबीच चर्काचर्की परेको छ।
बैठक सुरु हुनेवित्तिकै माओवादीले भ्रष्टाचार निवारण विधेयकमाथिको छलफल अन्तिम समयको कार्यसूचीबाट हटेको भन्दै आपत्ति जनाए। माओवादी केन्द्का प्रमुख सचेतक हितराज पाण्डेले सरकारले संसद्को अवहेलना गरेको आरोप लगाए ।
‘समग्र क्रियाकलापमा सरकारले संसदलाई मिनीमाइज गरिरहेको छ। अपहेलना गरिरहेको छ । र सरकारले जनताका प्रतिनिधिहरुको आवाजलाई ठिक तरिकाले सुन्न सकिरहेको छैन,’ उनले भने।
यस्तै, राष्ट्रिय स्वतन्त्र पार्टीका गणेश पराजुलीले सरकारको कदममा आपत्ति जनाए । सभामुख सरकारको चाहना अनुसार नभएर आफ्नो विवेकमा चल्नुपर्ने उनको आग्रह छ ।
प्रमुख प्रतिपक्षीले कार्यसूची संशोधन भएकोबारे प्रश्न उठाएपछि सरकारको नेतृत्वकर्ता दल नेकपा एमालेका सांसद महेश बर्तौलाले कार्यसूची संशोधन स्वभाविक रहेको बताए । सरकारको आग्रहमा कार्यसूची संशोधन गर्ने अभ्यास रहेको र दैनिक कार्यसूची बैठक सुरु हुनु एक घण्टा अगाडि तय हुने गरेको बताए ।
‘हामीले कार्यव्यवस्था परामर्श समितिको बैठकबाट क्यालेन्डर बनायौं । प्रतिनिधिसभा बैठकको सम्भावित कार्यसूची भनेका हौं,’ उनले भने,‘यो सम्भावित कार्यसूची हो । सभामुखको निर्णय अनुसार कार्यसूची तलमाथि हुनसक्छ ।’












