Kathmandu Press

ओली-नेपाल भेटपछि खुमलटारमा प्रचण्ड, खनाल र बामदेवबीच छुट्टै छलफल

काठमाडाैं, वैशाख १५ : सत्तासीन दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) भित्रको आन्तरिक विवाद चर्किँदै गएका बेला अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओ....

ओली-नेपाल भेटपछि खुमलटारमा प्रचण्ड, खनाल र बामदेवबीच छुट्टै छलफल

काठमाडाैं, वैशाख १५ : सत्तासीन दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) भित्रको आन्तरिक विवाद चर्किँदै गएका बेला अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओली र अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले छलफललाई तीव्रता दिएका छन्। 

सोमबार बालुवाटारमा प्रधानमन्त्री ओलीले असन्तुष्ट रहेका वरिष्ठ नेता माधवकुमार नेपालसँग पार्टीभित्रको विवादका विषयमा छलफल गरेका थिए। ओली र नेपालबीचको छलफलपछि कोटेश्वरस्थित निवासमा नेपालले  आफू र ओलीनिकट नेताहरुसँग कुराकानी गरिरहेका छन्।  

ओली र नेपालबीच भएको भेटवार्ता र कोटेश्वरस्थित निवासमा दुई पक्षका नेताहरुबीचको बैठक चलिरहेका बेला अर्का अध्यक्ष प्रचण्डले पनि भेटवार्तालाई तीव्रता दिएका छन्। 

प्रधानमन्त्री ओलीको कार्यशैलीबाट असन्तुष्ट बनेका वरिष्ठ नेता झलनाथ खनाल र उपाध्यक्ष बामदेव गौतमसँग अध्यक्ष प्रचण्डले आफ्नै निवास खुमलटारमा छलफल गरेका छन्।

कोटेश्वरस्थित नेपाल निवासमा ओली र नेपाल  समूहबीच बैठक चलिरहँदा खुमलटारमा प्रचण्डले खनाल र गौतमसँग पार्टीभित्रको समस्या, स्थायी कमिटी बैठक बोलाउने लगायतका विषयमा छलफल गरेको खुमलटार स्रोतले जनाएको छ। 

प्रधानमन्त्री ओलीको कार्यशैलीलाई लिएर नेकपाभित्र अहिले विवाद चरम उत्कर्षमा पुगेको छ। प्रचण्ड–नेपालनिकटका २० स्थायी कमिटी सदस्यहरुले स्थायी कमिटी बैठक बोलाउन माग गर्दै अध्यक्षद्वय ओली र प्रचण्डसँग लिखितरुपमा माग गरेका थिए। 

स्थायी कमिटी बैठक बोलाउने विषयमा सचिवालय बैठकमा छलफल भएपनि प्रधानमन्त्री एवं अध्यक्ष ओलीले तत्काल स्थायी कमिटी बैठक बोलाउन आवश्यक नरहेको बताउँदै आएका छन्।

स्थायी कमिटी बैठक बोलाएर सरकारले फिर्ता गरेका अध्यादेशबारे गम्भीर रुपमा छलफल हुनु पर्ने र सरकारको समीक्षा हुनु पर्ने माग प्रचण्ड–नेपाल समूहका नेताहरुले दबाब दिँदै आएका छन्। 

स्थायी कमिटी बैठक बोलाउन नमाने ओलीलाई प्रधानमन्त्रीबाट हटाउनेसम्मको रणनीति अध्यक्ष प्रचण्डसहित नेपाल लगायतका नेताहरुले बनाएको स्रोतको दाबी छ। 

प्रकाशित मिति: १७:२९ बजे, सोमबार, वैशाख १५, २०७७
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्