Kathmandu Press

अवैध अस्पताल बन्द गर्न मुख्यमन्त्री सिँहको कडा निर्देशन

अवैध अस्पताल बन्द गर्न मुख्यमन्त्री सिँहको कडा निर्देशन

जनकपुर, माघ २६ः मधेश प्रदेशका मुख्यमन्त्री सतिशकुमार सिंहले जनकपुरधामको पिराडीचोकमा अवैध ढंगले सञ्चालनमा रहेको मुस्कान अस्पताल सञ्चालकलाई त्यहाँ उपचाररत विरामीलाई अन्य अस्पतालमा स्थानान्तरण गर्न तथा वैधता प्राप्त नगरी अस्पताल सञ्चालन नगर्न निर्देशन दिएका छन्।

अवैध तथा अनाधिकृत ढंगले सञ्चालनमा रहेको मुस्कान अस्पतालमा विरामीको उपचारमा गम्भीर हेलचेक्र्याइँ भएको खबर सार्वजनिक भएपछि शुक्रबार राति अस्पताल अनुगमनमा पुगेका मुख्यमन्त्री सिंहले विधि र प्रक्रियाअनुसार सम्बन्धित निकायबाट अनुमति लिई अस्पताल सञ्चालन नभएको पाएका थिए। उनले अस्पताल सञ्चालकलाई अस्पतालमा उपचार गराइरहेका विरामीलाई तत्काल व्यवस्थित ढंगले विस्तृत विवरणसहित अन्य उपयुक्त अस्पतालमा पठाउन र शनिबार ११ बजेसम्म अस्पतालमा ताल्चा लगाएर सरकारलाई साँचो बुझाउन निर्देशन दिएका थिए।

Hardik ivf

अस्पतालमा तीनजना विरामी भर्ना छन्। यसअघि सोही अस्पतालमा पित्तथैलीको शल्यक्रियापछि सर्लाहीको हरिपूर्वा नगरपालिका नगरपालिका वडा नम्बर ५ की २५ वर्षीय बबिताकुमार यादव अहिलेसम्म बेहोस अवस्थामा जनकपुरधामस्थित जानकी हेल्थकेयर अस्पतालमा उपचाररत रहेकी समाचार सञ्चारमाध्यममा आएपछि मुख्यमन्त्री सिंहको गम्भीर ध्यानाकर्षण भएको थियो।

अस्पताल सञ्चालक आफैँले त्यसो नगरे सरकारले आफ्नो टोली पठाएर कारबाही गर्ने चेतावनी मुख्यमन्त्री सिंहले दिएका छन्। मुख्यमन्त्री सिंहले शुक्रबार साँझ मुस्कान अस्पतालमा पहिलोपटक अनुगमन गर्दा सञ्चालकसँग भेट नहुँदा फर्केका थिए। पहिलोपटकको अनुगमनमा उनले अस्पतालमा एकजना स्टाफ नर्स र एकजना सिएमएका भरमा अस्पताल सञ्चालन भएको पाएका थिए।

दोस्रोपटक राति १० बजेर ३० मिनेटमा सो अस्पताल पुगेका मुख्यमन्त्री सिंहले अस्पताल सञ्चालकसँग मापदण्डअनुसार चिकित्सक, स्वास्थ्यकर्मी र भौतिक संरचनाबारे जिज्ञासा राख्दै अस्पताल सञ्चालनका लागि आवश्यक अनुमति एवम् स्वीकृतिसँग सम्बद्ध कागजपत्र अध्ययन गरेका थिए।

अस्पतालले स्वीकृति नलिएको र जनशक्ति व्यवस्थापन तथा भौतिक संरचना अनुपयुक्त भएको पाएपछि मुख्यमन्त्री सिंहले गम्भीर चिन्ता व्यक्त गरेका छन्।

सम्बन्धित संस्थाबाट स्वीकृति नलिई सञ्चालनमा रहेका निजी अस्पताललाई मापदण्ड पुरा गरी स्वीकृति लिन मधेश प्रदेश सरकारले पटकपटक ताकेता गर्दा समेत सञ्चालकहरूले अटेर गर्दै आएका छन्।

प्रकाशित मिति: १५:३५ बजे, शनिबार, माघ २६, २०८१
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्