आगलागीबाट मन्त्रालयका महत्वपूर्ण कागजपत्र जोगिएका छन्ः मन्त्री यादव
खानेपानीमन्त्री प्रदिप यादवले सिहदरबारस्थित खानेपानी मन्त्रालयमा लागेको आगलागीबारे अनुसन्धान भइरहेको बताएका छन्।
काठमाडौं, माघ २६ः खानेपानीमन्त्री प्रदिप यादवले सिहदरबारस्थित खानेपानी मन्त्रालयमा लागेको आगलागीबारे अनुसन्धान भइरहेको बताएका छन्। शनिबार सञ्चारकर्मीहरुसँगको कुराकानीका क्रममा घट्नाबार अनुसन्धान भइरहेको प्रष्टाएका हुन्।
उनले आगलागीमा कुनैपनि आवश्यक कागजपत्रहरु नजलेको पनि बताए। डकुमेन्ट हस्ताक्षर गरेर मन्त्रालयका सचिवलाई पठाउने गरेकाले महत्वपुर्ण कागजपत्रहरु जोगिएको उनले बताए।
उनले भने, ‘महत्वपूर्ण कागजपत्रहरु बचेका छन्। कुनैपनि आवश्यक कागजपत्रहरु मेरो टेबुलमा थिएन। डकुमेन्ट हस्ताक्षर गरेर सचिवलाई पठाइहाल्ने बानी छ। कहिले पनि टेबुलमा फाइल रहँदैन थियो। त्यसकारण पनि अफिसियल कागजपत्र जलेका छैनन्।’
उनले शुक्रबार कार्यालयमा केही गन्ध आएको र त्यो पानी तताउने मेसिन हिट भएर होला भन्ने सोचेको बताए।
‘हिजो म कार्यालयमा हुँदा गन्ध आएको थियो। मैंले कार्यालय सहयोगीलाई सोधें उहाँले पानी तताउने मेसिन हिट भएर होला भन्नुभयो। अनि प्लग निकालेर सवा पाँच बजे निस्कियौं। बिहान यस्तो दुःखद घटना घट्यो,’ उनले भने, ‘यसबारे प्रहरीले अनुसन्धान गरिरहेको छ। तीनवटा सीसी क्यामेराको मनिटर, एक थान कम्प्युटर, डेक्सटप, पानी तताउने मेसिन, टेबुल, सोफालगायत अन्य सामानहरु जलेका छन्।’
शनिबार बिहान करिब पौने ८ बजे खानेपानी मन्त्रालयमा आगोलागी भएको थियो ।












