Kathmandu Press

न्याय परिषदमा पनि राजनीति हाबी छ : न्यायाधीश मल्ल 

न्यायाधीश नियुक्तिमा राजनीतिक प्रभाव कम गर्नुपर्ने भनाइ न्यायाधीश मल्लको छ।
न्याय परिषदमा पनि राजनीति हाबी छ : न्यायाधीश मल्ल 

काठमाडौं, माघ २५ : सर्वोच्च अदालतकी वरिष्ठतम न्यायाधीश सपना प्रधान मल्लले न्यायाधीश नियुक्ति र कारबाही गर्ने न्याय परिषदमा राजनीति हाबी भएको बताएकी छन् । 

न्यायाधीश नियुक्तिमा राजनीतिक प्रभाव कम गर्नुपर्ने भनाइ न्यायाधीश मल्लको छ।

काठमाडौँको तीनकुनेस्थित हिमालयन ह्वाइटहाउस इन्टरनेसनल कलेजले आयोजना गरेको ‘ह्वाइटहाउस लिटरेचर फेस्टिभल’ समापनलाई सम्बोधन गर्नेक्रममा न्यायाधीश मल्ले यस्तो भनाइ राखेकी हुन्।

न्यायिक स्वायत्तता महत्त्वपूर्ण भएको बताउँदै न्यायाधीशको सिफारिस र नियुक्ति प्रक्रिया राजनीतिक रहेको भनाइ उनको थियो । ‘प्रधानन्यायाधीश नियुक्त गर्ने संवैधानिक परिषद् पनि राजनीतिक छ । संसदीय सुनवाइ पनि राजनीतिक नै भयो । न्यायपरिषद्मै राजनीति हाबी छ,’ उनले भनिन् । 

तर, विविध समस्या हुँदाहुँदै पनि कामको अवस्था हेर्दा न्यायालय स्वच्छ र स्वतन्त्र नै छ भन्ने विश्वास रहेको भनाइ मल्लको थियो । न्यायिक स्वतन्त्रताका लागि न्यायाधीश नै सक्षम र स्वतन्त्र हुनुपर्ने पनि उनले बताइन्।

विगतको राजनीतिक आबद्धताबाट नभै न्यायाधीशले संविधानसँग सम्झौता गरेको छ कि छैन भनेर हेरिनुपर्ने उनको भनाइ छ । न्यायपालिकामाथि सरकारको मात्र नभएर समाजबाट, सञ्चारमाध्यमबाट र सामाजिक सञ्जालबाट समेत दबाब रहेको भनाइ उनको थियो । 

संसद् विघटनको मुद्दामा विद्यार्थीले राखेको एक जिज्ञासामा त्यतिबेला आफुलाई प्रधानन्यायाधीश नबनाउने कुरा सुनेको पनि बताइन् । उनले समाजमा अपराधको न्यूनीकरण गर्न समाजका सबै पक्ष जाग्नुपर्ने बताउँदै भनिन्, ‘बलात्कारका घटना बढिरहेका छन्। महिलामाथि हुने हिंसा भइ नै रहेका छन् । यसमा यौन शिक्षा पनि आवश्यक छ। कानुनको जानकारी पनि जरुरी छ। हिंसा सहनु हुँदैन प्रमाण जोगाएर न्याय माग्न जान पर्छ ।’ 

 

प्रकाशित मिति: १८:१५ बजे, शुक्रबार, माघ २५, २०८१
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्