वेलायती राजकुमार पोखरामा, गोर्खा सैनिकमा भर्ती भएकाहरुसँग भेटघाट

पोखरा, माघ २५ः नेपाल भ्रमणमा रहेका वेलायती राजकुमार एडवार्ड र राजकुमारी डचेस सोफी पोखरामा छन्। उनीहरुले गोर्खा सेनामार्फत वेलायत–नेपाल मित्रताको गहिरो सम्बन्ध रहेकोबारे चर्चा समेत गरे।
वेलायती सेनामा औपचारिक रुपमा सामेल भएका २७४ नेपाली युवाहरुको वार्षिक प्रमाणीकरणमा सहभागि भएका उनीहरुले गोर्खा सैनिकमा नेपालीहरुको सक्रियताको प्रसंशा गरेका थिए। त्यसक्रममा बेलायती सेनामा नयाँ भर्ना भएका केही युवाका परिवारका सदस्यहरूसँग भेटघाट पनि गरेका थिए।
अत्यधिक प्रतिस्पर्धात्मक भर्ती प्रक्रिया पछि २७४ जना प्रशिक्षार्थी राइफलम्यानहरू वेलायती सेनामा सामेल हुनेछन्। गोर्खा सेनाको ब्रिगेड ब्यान्डको नेतृत्वमा परेडको मार्च–आउटमा नेपालभरबाट आएका नयाँ भर्ती भएकाहरुका परिवारका सदस्यहरू उपस्थित थिए।
राजकुमारले भने, ‘अब तपाईं गोर्खा सैनिक बन्नुभएको छ। यस वर्ष भर्ती हुने सम्भावना बोकेका १३,००० भन्दा बढीबाट केबल २७४ नयाँ गोर्खामध्ये एक हुनुहुन्छ। यो तपाईंको जीवनको सबैभन्दा ठूलो चुनौतीहरू मध्ये एक रहेको छ। आफ्नो उपलब्धिमा धेरै गर्व महसुस गर्न सक्ने अवस्थामा हुनुहुन्छ।’
उनीहरू बेलायतको क्याटरिकमा रहेको सैन्य प्रशिक्षण केन्द्र (आइटीसी) पुग्नेछन्, जहाँ उनीहरूले नौ महिना लामो प्रशिक्षणमा सहभागी हुनेछन्।
समारोहमा उपस्थित अन्य व्यक्तित्वहरु नेपालका लागि वेलायती राजदूत रोब फेन; गोर्खा ब्रिगेडका कर्नल कमान्डेन्ट मेजर जनरल स्ट्रिकल्याण्ड डिएसओ एमबीइ; गोर्खा ब्रिगेडका डेपुटी कर्नल कमान्डेन्ट मेजर जनरल द लर्ड ल्यान्कास्टर टिडी पीसी; ब्रिटिश गोर्खा नेपाल (बिजीएन) का कमाण्डर कर्नल ड्यान रेक्स एमभिओ; र बिजीएनका डेपुटी कमाण्डर लेफ्टिनेन्ट कर्नल राजेशकुमार गुरुङले भर्ती भएका नयाँ सैनिकहरूको प्रमाणीकरणको अवलोकन गरे।
परेडमा गोर्खा र ब्रिटिश कर्मचारीहरूलाई ३८ वटा राज्याभिषेक पदक र दुई वटा दीर्घ सेवा तथा असल आचरण पदकहरू पनि प्रदान गरिएको थियो। राजकुमार र राजकुमारीले १०४ वर्षीया आशा कुमारी तामाङलाई पनि भेटेका छन्। तामाङका स्वर्गीय श्रीमानले दोस्रो विश्वयुद्धमा चौथो गोर्खा राइफल्समा आबद्ध भई सेवा गरेका थिए।
राजकुमार दम्पत्तीलाई पोखराका मेयर धनराज आचार्य, प्रमुख जिल्ला अधिकारी भरतमणि पाण्डेले स्वागत गरेका थिए। उनीहरु बिहीबार र शुक्रबार कास्कीमा रहने छन्।