विपीन जोशीको रिहाइका लागि सभामुख घिमिरेले लेखे अरब संसद्का अध्यक्षलाई पत्र
उनले विपिन जोशीलाई सकुशल स्वदेश फर्काउन अरब लिगले सहयोग पुर्याउने विश्वास व्यक्त गरेका छन् । पत्रमा भनिएको छ, ‘नेपाल सरकारले हालै इजरायल र हमासबीच भएको युद्धविराम तथा बन्दी आदानप्रदान सम्झौताका लागि स्वागतयोग्य दृष्टिकोण लिएको स्मरण गराउँदछु ।’
काठमाडौं, माघ २५ : सभामुख देवराज घिमिरेले अरब संसद्का अध्यक्ष मोहम्मद अहमद अल–यमाहीलाई एक पत्र पठाउँदै हमासद्वारा अपहरण गरिएका नेपाली विद्यार्थी विपिन जोशीको शीघ्र रिहाइका लागि पहल गरिदिन अनुरोध गरेका छन् ।
सभामुख घिमिरेले अल–यमाहीलाई शुक्रबार पत्र लेख्दै विपिन जोशीको सकुशल रिहाइका लागि विशेष पहल गरिदिन अनुरोध गरेका हुन् । घिमिरेले लेखेको पत्रमा उल्लेख छ, ‘नेपाल र अरब लिगबीचको सौहार्दपूर्ण सम्बन्धलाई ध्यानमा राख्दै म तपाईंलाई अक्टोबर ७, २०२३ देखि हमासद्वारा बन्दी बनाइएका नेपाली विद्यार्थी विपिन जोशीको यथाशीघ्र रिहाइका लागि पहल र सहयोगका लागि अनुरोध गर्दछु ।’ घिमिरेले नेपाल र अरब लिगबीचको सौहार्दपूर्ण सम्बन्धको स्मरण पनि गराएका छन् ।
उनले विपिन जोशीलाई सकुशल स्वदेश फर्काउन अरब लिगले सहयोग पुर्याउने विश्वास व्यक्त गरेका छन् । पत्रमा भनिएको छ, ‘नेपाल सरकारले हालै इजरायल र हमासबीच भएको युद्धविराम तथा बन्दी आदानप्रदान सम्झौताका लागि स्वागतयोग्य दृष्टिकोण लिएको स्मरण गराउँदछु ।’
जोशीको सकुशल उद्दारका लागि कूटनीतिक तहमा थप पहल हुने अपेक्षा गरिएको छ । विपीन जोशीलाई हमासले ७ अक्टोबर २०२३ मा इजरायलमाथि गरेको आक्रमणपछि बन्दी बनाएको थियो ।
सभामुख घिमिरेले नेपाल सार्क, बिमस्टेकजस्ता क्षेत्रीय तथा उपक्षेत्रीय संरचनाहरूमा सक्रिय रूपमा सहभागी हुँदै आएको स्मरण गराउँदै नेपाल र अरब लिगबीच थप सहकार्यको आवश्यकमा समेत जोड दिएका छन् ।