‘जनप्रतिनिधिले जनतालाई अनावश्यक दुःख दिने काम अन्त्य हुनुपर्छ’

काठमाडौं, माघ २५ः उपप्रधान तथा सहरी विकासमन्त्री प्रकाशमान सिंहले जनप्रतिनिधिबाट अनावश्यक रुपमा जनतालाई दुःख दिने कामको अन्त्य हुनुपर्ने बताएका छन्।
शुक्रबार काठमाडौं महानगरपालिका वडा नं २९ को प्रशासनिक भवन उद्घाटन समारोहमा उनले जनप्रतिनिधिले जनताको गुनासो सुनेर त्यसलाई कसरी सम्बोधन गर्ने भन्नेतिर नै जोड दिएर लाग्नुपर्ने बताए।
उनले भने, ‘सबैभन्दा बढी जनताले के खोजिरहेका छन्, जनताले समस्या राखिसकेपछि त हुनसक्ने काम त गर्दिनपर्छ नि। भोलि आउनुहोसु, पर्सी आउनुहोस् भन्ने गरिन्छ। स्पष्ट भनिदिनुपर्छ, अनावश्यक दुःख दिन पाइँदैन। यसको अन्त्य हुनुपर्छ।’
त्यस्तै उनले सरकारप्रति प्रश्न धेरै उठ्ने गरेको भन्दै स्थायी सरकार बनाउने उद्देश्यले वर्तमान सरकार निर्माण भएको बताए।
उनले भने, ‘सबैले सरकारबारे प्रश्न गरेका छन्। कांग्रेस र एमालेले अरु पार्टीलाई पनि मिलाएर अहिले जुन सरकार बनेको छ त्यो जनताको चाहना हो। शान्ति प्रकृयामा पनि कांग्रेसले नै नेतृत्व गरेको हो नि।’
मन्त्री सिंहले वडाको भवन आफ्नै वडामा बन्नुपर्छ भन्दा विवाद गर्नुपर्ने अवस्था आएको स्मरण गर्दै नेपालमा नराम्रो काम गर्नभन्दा राम्रो काम गर्नको लागि धेरै अप्ठ्यारो रहेको बताए।












