आज रातिदेखि प्रसारणमा आउँदैछ 'कास्ट कन्भर्सेसन'
जातसँग लैंगिकता, प्रेम, विवाहदेखि न्याय र शिक्षा कसरी अन्तरसम्बन्धित हुन्छ भन्ने बहस हुने
काठमाडौं, माघ २४ : जातसँग लैंगिकता, प्रेमदेखि न्यायसम्मका विषय कसरी अन्तरसम्बन्धित हुन्छ भन्ने विषयमा बहस गर्ने कार्यक्रम कास्ट कन्भर्सेसन बिहीबारदेखि प्रसारणमा आउने भएको छ।
हिमालय टेलिभिजनमा १२ अंकको कास्ट कन्भर्सेसनको पहिलो शृंखला बिहिबार रातिदेखि प्रसारणमा आउने भएको हो। दलित म्याटरले उत्पादन गरेको कार्यक्रमको पहिलो प्रसारण राति साढे ९ बजे हुने जनाइएको छ।
पहिलो शृंखलामा जात व्यवस्थाको विविध आयामबारे युवा पुस्तासँग छलफल गर्ने, उनीहरूको अनुभवबाट सिक्ने र जातीय विभाजन, विभेद र बहिष्करण अन्त्यका लागि युवा वैचारिकी तयार गर्ने उद्देश्य रहेको छ।
पहिलो श्रृङ्खलामा सातै प्रदेशको प्रतिनिधित्व गर्दै विभिन्न समुदाय, लिङ्ग, भाषा, आस्था र शारीरिक अवस्थाका युवा सहभागी हुने पनि दलित लाइभ्स म्याटरले जनाएको छ।
शान्ता नेपालीको निर्देशनमा तयार भएको कास्ट कन्भर्सेसनलाई वृद्धिका सेञ्च्युरीले सञ्चालन गर्नेछन् । कार्यक्रमको हरेक अंकमा सात जना सहभागी हुनेछन् ।
'जातसँग लैङ्गिकता, प्रेम र विवाह, जमिनको स्वामित्व, कला र साहित्य, प्रविधि, न्याय र शिक्षालगायत विविध विषय र मुद्दा कसरी अन्तरसम्बन्धित छन् भन्नेबारे कास्ट कन्भर्सेसनले प्रष्टता ल्याउने छ,' दलित लाइभ्स म्याटरले विज्ञप्तिमा भनेको छ।
जात व्यवस्था र यसले सिर्जना गरेका विभेद र असमानता कुनै निश्चित समुदायले मात्र बोल्नुपर्ने विषय नभएको र मानव जातिकै कलंक बनेको जात व्यवस्था अन्त्यका लागि सबै जात र समुदायको अर्थपूर्ण सहभागिता, साझेदारी र सहकार्यको कुनै विकल्प नभएको दलित लाइभ्स म्याटरको धारणा छ।
दलित लाइभ्स म्याटर जातको आधारमा हुने हिंसा, विभेद र बहिष्करण अन्त्यका लागि संगठित विश्व्यापी रूपमा उदाउँदो अभियान रहेको विज्ञप्तिमा उल्लेख छ। २०७७ जेठ १० गते अन्तरजातीय विवाह गर्ने प्रयासमा रूकुम पश्चिममा नवराज विक र उनका पाँच जना साथीहरूको नरसंहार भएको पृष्ठभूमिमा दलित लाइभ्स म्याटर अस्तित्वमा आएको पनि जानकारी दिइएको छ।
जात व्यवस्था नेपाली समाज र समग्र मानव सभ्यताको विकास, गतिशीलता र प्रगतिको बाधक बनेको विज्ञप्तिमा भनिएको छ। जात व्यवस्था, यसका आयाम र प्रभावबारे सिर्जनशील प्रश्न नगरिएकाले समाधानमुखि संवाद हुन अझै नसकेको संस्थाको धारणा छ।
'विभेदकारी जात व्यवस्थाले दलित र सिमान्तकृत समुदायलाई सबैभन्दा पीडामा पारेको छ । आर्थिक, राजनीतिक र सामाजिक रूपमा पछाडि पारेको छ । दलित र सिमान्तकृत समुदाय विरूद्ध निरन्तर अमानवीय शोषण र हिंसा भइरहेको छ । संरचनात्मक विभेद र बहिष्करण अझै जारी छ । जसको अन्त्य टाढा पर-परसम्म पनि देखिदैन,' विज्ञप्तिमा भनिएको छ।
त्यसैले, जात व्यवस्थाको विविध आयामबारे युवा पुस्तासँग छलफल गर्ने, उनीहरूको अनुभवबाट सिक्ने र जातीय विभाजन, विभेद र बहिष्करण अन्त्यका लागि युवा वैचारिकी तयार गर्ने उद्देश्यले दलित लाइभ्स म्याटरले टेलिभिजन कार्यक्रम कास्ट कन्भर्सेसन उत्पादन गरिएको विज्ञप्तिमार्फत जानकारी गराइएको छ।
उसले विज्ञप्तिमार्फत् दलित लाइभ्स म्याटरमा सम्पूर्णको साथ, सहयोग र सहकार्यका लागि आह्वान गरेको छ।












