संसदमा प्रचण्डको प्रश्न- अरू बेला दुई तिहाइको अहंकार सुन्नुपर्ने, शासनचाहीँ अध्यादेशबाट चलाउने?
प्रमुख विपक्षी नेकपा (माओवादी केन्द्र)का संसदीय दल नेता पुष्पकमल दाहाल 'प्रचण्ड'ले अध्यादेश सार्वभौम संसदको अपमान र अपहेलना भएको बताएका छन्।
काठमाडौं, माघ २४ : प्रमुख विपक्षी नेकपा (माओवादी केन्द्र)का संसदीय दल नेता पुष्पकमल दाहाल 'प्रचण्ड'ले अध्यादेश सार्वभौम संसदको अपमान र अपहेलना भएको बताएका छन्।
बिहीबार प्रतिनिधि सभा बैठकमा दाहालले अध्यादेश ल्याउने प्रक्रिया मात्रै नभई यसमा सरकारको नियत नै सहि नभएको बताए।
संसद सुरू हुनुभन्दा ६ दिनअघि अध्यादेश ल्याउनुले सरकार विपक्षी दलसँग डराएको मात्र नभई आफ्नै सांसदहरूमाथि समेत अविश्वास गरेको ठहर्ने दाहालले बताए।
'रातारात अध्यादेशको चोरबाटोले भन्छ, तपाईहरुको नियत सही छैन । अरु बेला संसदमा दुई तिहाइको घमन्ड सुन्नुपर्ने । बलियो सरकारको अहंकार सुन्नुपर्ने । अनि शासनचाहिँ अध्यादेशहरुबाट चलाउने ?,' उनले भने।
उनले सरकारले भन्दै आएको विकासका लागि अध्यादेश ल्याइएको हो भने खुला छलफलमा ल्याउन सरकार डराउनुपर्ने कारण नरहने बताए।
'संसदमा विचाराधीन विधेयक फिर्ता समेत नलिई किन ल्याइयो अध्यादेश ? सरकार र संसदले चाहँदा फास्ट ट्रयाकबाट विषयगत समिति, प्रतिनिधि सभा र राष्ट्रिय सभाबाट दश दिनमै पनि विधेयक पारित गर्न सकिन्छ जबकि प्रतिस्थापन विधेयकले ६० दिनको लामो प्रकृया पार गर्नुपर्छ । देश र जनताका लागि सोचेको भए तपाईहरु संसदसँग डराउनुहुने थिएन । स्वार्थसमूहहरुलाई पोस्नुपर्ने भएकैले तपाईहरुले अध्यादेशको चोरबाटो समाउनुभयो । कार्यपालिकाले नै सबै गर्ने भए किन चाहियो त व्यवस्थापिका ?,' उनले भने।











