महोत्तरीमा ४५ हजार बढीलाई एचपिभी खोप दिइँदै
महोत्तरीमा करिब ४५ हजार किशोरीलाई पाठेघर मुखको क्यान्सरविरुद्ध (एचपिभी) खोप लगाइने तयारी छ।-ink-1738680966.jpeg)
महोत्तरी, माघ २३ : महोत्तरीमा करिब ४५ हजार किशोरीलाई पाठेघर मुखको क्यान्सरविरुद्ध (एचपिभी) खोप लगाइने तयारी छ।
जिल्लाका १० नगरपालिका र पाँच गाउँपालिकासहित १५ स्थानीय तहमा दुई चरणमा सञ्चालन गरिने खोप अभियानअन्तर्गत ४५ हजार ४६४ जना किशोरीलाई खोप दिइने जिल्ला स्वास्थ्य कार्यालय महोत्तरीले जनाएको हो । पहिलो चरणको खोप बिहीबार सुरु हुँदैछ।
विद्यालयमा अध्ययनरत कक्षा ६ देखि १० सम्मका छात्रा र विद्यालय बाहिरका १० वर्षदेखि १४ वर्ष उमेर समूहभित्रका किशोरीलाई खोप दिइँदैछ।
खोप दिइने विद्यालयका छात्रा ३६ हजार ६० र विद्यालय बाहिरका किशोरी आठ हजार ४६८ रहेका कार्यालय प्रमुख तथा वरिष्ठ स्वास्थ्य प्रशासक नवलकिशोर साहले जानकारी दिए।
जिल्लाका सात स्थानीय तहमा पहिलो चरणमा बिहीबारदेखि ३० गतेसम्म खोप सञ्चालन हुने कार्यालयले जनाएको छ।
जलेश्वर, लोहारपट्टी, मनराशिशवा र मटिहानी नगरपालिका तथा पिपरा, एकडारा र महोत्तरी गाउँपालिकालमा पहिलो चरणमा खोप कार्यक्रम रहेको वरिष्ठ स्वास्थ्य प्रशासक साहले जानकारी दिनुभयो । यसरी पहिलो चरणमा १९ हजार ६९ जना किशोरीलाई एचपिभी खोप दिइने कार्यालयले जनाएको छ।
यसैगरी दोस्रो चरणअन्तर्गत आगामी फागुन २ गतेदेखि आठ गतेसम्म सञ्चालन गरिने भएको छ । दोस्रो चरणअन्तर्गत जिल्लाका भङ्गाहा, बर्दिबास, रामगोपालपुर, बलवा, औरही र गौशाला नगरपालिका तथा सम्सी र सोनमा गाउँपालिका समावेश छन्।
यस चरणमा २६ हजार ३९५ जना किशोरीलाई खोप लगाइने वरिष्ठ स्वास्थ्य प्रशासक साहले जानकारी दिए।
जिल्लामा खोप दिइने सबैभन्दा बढी बर्दिबास नगरपालिकामा चार हजार नौ सय ८६ र सबैभन्दा कम महोत्तरी गाउँपालिकामा एक हजार ७१७ किशोरी छन् ।
जिल्लाका ६ कक्षादेखि १० सम्म पठनपाठन हुने सबै विद्यालय र विद्यालय बाहिरका किशोरीलाई लक्षित गरी बस्तीबस्तीमा खोप केन्द्र निर्धारण गरिएको कार्यालयले जनाएको छ ।
जम्मा ४०२ खोप केन्द्र व्यवस्था गरिएको साहको भनाइ छ । खोप सञ्चालनका लागि हरेक केन्द्रमा एक सुपरभाइजर, एक भ्याक्सिनेटर र दुई स्वयंसेवकसहित चार जनाको जनशक्ति परिचालन गरिने कार्यालयले स्पष्ट गरेको छ।
यो अभियानमा लक्षित समूहभित्रका कोही किशोरी नछुटुन् भनी प्रचारप्रसार गरिएको जानकारी दिँदै कार्यालय प्रमुख साहले यस अभियानमा साथ दिन सबैसँग अनुरोध गरे।












