‘लोकतन्त्र ल्याउन रेडियोको ठूलो योगदान छ’

मकवानपुर, माघ २२ : बागमती प्रदेशका मुख्यमन्त्री बहादुरसिं लामाले लोकतन्त्र ल्याउन रेडियोको महत्वपूर्ण योगदान रहेको बताएका छन् ।
रेडियो मकवानपुरको १५औँ वार्षिकोत्सव तथा रेडियोको सञ्चालक संस्था दिव्यतारा बहुउद्देश्यीय सहकारीको २७औँ स्थापना दिवसको अवसरमा आज यहाँ आयोजित कार्यक्रममा उनले सञ्चारमाध्यम नै प्रजातन्त्रको ठूलो सम्पत्ति भएको बताएका हुन्।
मुख्यमन्त्री लामाले प्रदेशमा रहेका सञ्चारमाध्यमको वृत्तिविकासका लागि सरकार सदैव तयार रहेको बताए।
'मुलुकमा परिवर्तनका लागि सञ्चार क्षेत्रको महत्वपूर्ण भूमिका र योगदान छ। त्यसमा पनि रेडियो सशक्त माध्यमका रूपमा रहेको छ। अझै सामुदायिक रेडियोले समाज परिवर्तनमा छुट्टै भूमिका खेलेका छन्,' उनले भने।
जिल्ला समन्वय समितिका प्रमुख ललितबहादुर घलानले पछिल्लो समय सञ्चारमाध्यमको सङुख्या बढ्दो क्रममा रहेको भन्दै भूगोल र बजारअनुसार मिडिया हुन आवश्यक रहेको बताए।
प्रमुख जिल्ला अधिकारी तीर्थराज चिलुवालले समाचार लेखेकै कारण कुनै पत्रकार तथा सञ्चार माध्यम डरत्रासमा बस्नु नपर्ने बताए।
उनले पत्रकारसहित आमनागरिकलाई शान्ति सुरक्षा प्रदान गर्नका लागि प्रहरी प्रशासन सदैव तयार रहेको बताए।
रेडियो मकवानपुर सञ्चालक समितिका अध्यक्ष आनन्दराम पराजुलीको सभाध्यक्षतामा सम्पन्न कार्यक्रममा विभिन्न व्यक्तिलाई सम्मान गरिएको थियो। दुई जनालाई सामुदायिक सम्मान २०८१ प्रदान गरियो। बकैया गाउँपालिका—४ का विक्रम कार्कीलाई विश्वको सर्वोच्च शिखर सगरमाथा आरोहण गरेर मकवानपुरलाई चिनाउन महत्वपूर्ण भूमिका निर्वाह गरेको र हेटौँडा उपमहानगरपालिका–१, स्थित अमर माध्यमिक विद्यालयका प्रध्यानाध्यापक मालती उप्रतीलाई पनि शैक्षिक क्षेत्रमा पुर्याएको योगदानका लागि नगद रु १०/१० हजारसहित सम्मान गरिएको थियो।
यसैगरी, रेडियोले कर्मचारी सम्मानबाट एलिश लुइँटेललाई नगद रु सात हजारसहित सम्मान गरेको रेडियोका व्यवस्थापक गणेशदर्पण अधिकारीले जानकारी दिए।
त्यस अवसरमा मकवानपुर उद्योग वाणिज्य सङ्घका नवनिर्वाचित पदाधिकारी र सदस्यलाई पनि सम्मान गरिएको थियो। ---