रविले निकिताको नाममा चारवटा र गोपिकृष्णको नाममा दुईवटा चेक काटेको फेला

काठमाडौं, माघ २२ : चितवनको साहारा सहकारी रकम अपचलन प्रकरणमा रास्वापा सभापति रवि लामिछानेले श्रीमती निकिता पौडेलको नाममा चार वटा चेक काटेको दाबी सरकारी वकीलले गरेको छ ।
लामिछानेले गोरखा मिडियाका तत्कालीन प्रबन्ध निर्देशकको हैषियतमा साहारा सहकारीबाट आएको रकममा श्रीमती पौडेलको नाममा चेक काटेको दाबी जिल्ला सरकारी वकीलको कार्यालय चितवनले गरेको छ।
साहारा चितवन बहुउद्देश्यीय सहकारी संस्थाको रकम अपचलन प्रकरणमा रास्वपाका सभापति एवम् पूर्वगृहमन्त्री लामिछानेविरुद्ध आजै मुद्दा दर्ता भएको थियने ।
लामिछानेले श्रीमती पौडेल र उनी आबद्ध गोपिकृष्ण मुभिजको नाममा समेत थप दुई वटा चेक काटेको अभियोगपत्रमा उल्लेख छ ।
पौडेलको नाममा ५९ लाख, ३८ हजार, दुई सय ५१ र गोपिकृष्ण मुभिजको नाममा दुई वटा चेकमार्फत ८१ लाख, २५ हजार रुपैयाँ रकम भुक्तानी दिएको देखिएको अभियोगपत्रमा उल्लेख छ । अभियोगपत्र अनुसार लामिछाने २०७७ पुस ३० गते प्रबन्ध निर्देशकको रुपमा गोर्खा मिडियामा प्रवेश गरी सोही वर्षको चैत महिनामा सेयर होल्डर बनेको बताउँदै २०७९ साल असार २ गते मात्र उक्त प्रालिबाट अलग भएको समेत जनाइएको छ । उक्त मिति भन्दा अघि र पछि पनि चेकहरु जारी भएको देखिएको अभियोग दाबी छ ।
चितवन सरकारी वकीलले दर्ता गरेको अभियोगपत्र अनुसार साहारा सहकारीबाट गोर्खा मिडियामा जम्मा हुन आएको रकममध्येबाट लामिछानेको एकल हस्ताक्षरले ८१४ वटा चेक काटेका छन् ।
ती चेकमार्फत ४८ करोड ५८ लाख २२ हजार २४६ र जीबी राईसमेतको हस्ताक्षरमा थप ६० लाख १९ हजार रुपैयाँ भुक्तानी भएको अभियोगपत्रमा उल्लेख छ।
सरकारी वकीलले प्रहरी प्रतिवेदन अनुरुप लामिछानेसहित १५ जनालाई प्रतिबादी बनाउँदै अदालतमा मुद्दा दर्ता गरेको छ । यी बाहेक ६ वटा संस्थामाथि पनि सहकारी ठगीको आरोप लगाएको छ। लामिछानेलाई सहकारी ठगी र अन्य व्यक्तिलाई संगठित अपराध कसुरमा पनि मुद्दा दर्ता गरिएको हो ।