Kathmandu Press

लकडाउनले जानकीको जन्मजयन्ती घरघरमै मनाइँदै

जनकपुरधाम, वैशाख १५ : लकडाउनले गर्दा माता जानकीको जन्मोत्सव यस पटक घरमै पूजापाठ गरी मनाइने भएको छ। कोरोना भाइरस संक्रमण राेक्न लकडाउन गरिएकाले घरघरमै ....

लकडाउनले जानकीको जन्मजयन्ती घरघरमै मनाइँदै
फाइल फाेटाे

जनकपुरधाम, वैशाख १५ : लकडाउनले गर्दा माता जानकीको जन्मोत्सव यस पटक घरमै पूजापाठ गरी मनाइने भएको छ। कोरोना भाइरस संक्रमण राेक्न लकडाउन गरिएकाले घरघरमै साँझपख दीपोत्सव भइरहेको छ।

यस वर्ष जानकीको महोत्सव वैशाख १९ गते परेको छ। जन्मोत्सवका अवसरमा जानकी मन्दिरमा नौ दिनसम्म बधाई गीत, प्रवचन, दूधमती स्नान, रामायण प्रदर्शन, जानकी जन्मको विवेचना, छठिहार, गर्भ गृहमा अभिषेक र जन्मोत्सव विधि, सोहर (जन्मका बेला गाइने गीत) गङ्गा आरती, दीपोत्सवलगायत कार्यक्रममा देशविदेशका हजारौँ साधुसन्त र श्रद्धालुको सहभागितामा हर्षोल्लासपूर्वक मनाइने चलन रहेको छ।

यस पटक कलश स्थापना गरी दैनिक पूजापाठमात्र भइरहेको जानकी मन्दिरका सहायक महन्त रामरोशन दासले बताए। कोरोना भाइस सङ्क्रमणको जोखिमलाई दृष्टिगत गरी उत्सवका कार्यक्रम स्थगित गरी घरघरमै मनाउन आग्रह गरिएको दासले बताए।

माता जानकीको वैशाख शुक्ल नवमी तिथिमा मिथिलाको पुनौरा भन्ने स्थानमा जन्म भएको थियो। त्यसैले यस तिथिलाई जानकी नवमी पनि भनिन्छ। यस तिथिलाई मिथिलावासी धेरै महत्वपूर्ण ठान्दछन् र यस अवसरमा जनकपुरधामको जानकी मन्दिरमा मात्र होइन, सम्पूर्ण मिथिलाञ्चलमा ठाउँ–ठाउँमा ठूलो धार्मिक मेला लाग्ने गरेको छ। यस पटक सबै कार्यक्रम स्थगित गरिएको दासले बताए।

गत वर्ष जानकी जन्माेत्सवमा जानकी मन्दिरमा भक्तजन।

जानकी मिथिलाको माटोको उपज र उपलब्धि भएकाले उनीप्रति सबै मिथिलावासी नतमस्तक हुन्छन्, यस अवसरमा हार्दिक धार्मिक भावनाको स्पष्ट प्रगतीकरण देखिन्छन्। विवाहित महिलाले जानकी नवमीका दिन व्रत गर्ने चलन पनि छ।

धार्मिक ग्रन्थहरूमा  भूमिबाट उत्पन्न भएका कारण जानकीलाई अन्नपूर्णा स्वरूपा भनिएको छ। जानकीको व्रतले घरमा सुख, समृद्धि, अन्न र वैभव प्राप्ति, धैर्य, विवेक, ज्ञान, ममता, समर्पण उत्पन्न हुने मान्यता रहेको छ।    

जानकीलाई लक्ष्मीको अवतार पनि मानिएको छ। त्यसैले उनकै अनुकम्पाले मिथिलावासी सुखी जीवन एवं सम्पन्न जीवन सृष्टिको शुरुदेखि नै व्यतीत गर्दै आएको विश्वास पाइन्छ। जनक, जानकी, मिथिला र जनकपुरधाम धेरै ठाउँमा एकाकार र पर्यायवाची रहेको छ, त्यसैले जनकपुरधामको पहिचान जानकी र मिथिलाबाट भएको छ। मैथिली, सीता, जानकी र सिया पर्यायवाची नामहरू रहेका छन्।

किंवदन्तीअनुसार अनिकालबाट मुक्तिका लागि राजर्षि जनकले  पुनौरामा हलेष्टि यज्ञ गर्दा जानकीको जन्म भएको थियो।  शास्त्रमा सीता शब्दको तात्विक महत्वका सन्दर्भमा ‘सी’ मा रहेको इकार प्रपञ्च बीज मानिएको छ, त्यही नै माया र विद्या स्वरूप हो  स कार सत्यको नाम हो, यसैबाट अमृत प्राप्ति र सोम हुन्।

माताको दोस्रो स्वरूप नारी हो, जो पृथ्वीबाट हलोको क्रममा उत्पन्न भइन्। उनलाई इच्छा, क्रिया, सोम, सूर्य र आगोको शक्ति पनि मानिएको छ। मिथिलाको संस्कृतिमा जानकीको जीवन चरित्र वन्दनीय, स्मरणीय र पूजनीय रहेको छ। (रासस)

प्रकाशित मिति: ०९:४३ बजे, सोमबार, वैशाख १५, २०७७
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्