वसन्त पञ्चमीमा बुढानीलकण्ठमा पुस्तकालय
पासिकोटस्थित ज्ञानभुमि टोल समाज महिला समितिले सोमबारदेखि पुस्तकालय सञ्चालनमा ल्याएको हो।
काठमाडौं, माघ २१ : वसन्त पञ्चमीको अवसर पारेर बुढानीलकण्ठ नगरपालिका–४ पासिकोटमा पुस्तकालय सञ्चालना आएको छ। पासिकोटस्थित ज्ञानभुमि टोल समाज महिला समितिले सोमबारदेखि पुस्तकालय सञ्चालनमा ल्याएको हो।
ज्ञानभुमि महिला समितिका अध्यक्ष एवं पुस्तकालय व्यवस्थापन तथा संचालन समितिका संयोजक इन्दिरा चुडाल खरेलको अध्यक्षतामा भएको एक कार्यक्रमबीच वडा नम्बर ४ का वडाध्यक्ष श्रीराम केसीले पुस्तकालय उद्घाटन गरे।
पुस्तकालय स्थापना गरेर महिला समितिले उदाहरणीय कार्य गरेको भन्दै अतिथिहरुले उक्त कार्यको प्रशंसा गरेका थिए। पुस्तकालय संचालनमा सबै मिलेर सहयोग गर्ने प्रतिवद्धता पनि अतिथिहरुले जनाए।
कार्यक्रममा प्रमुख अतिथि श्रीराम केसी, कार्यक्रमकी अध्यक्ष इन्दिरा चुडाल खरेल, ज्ञानभुमि टोल समाजका अध्यक्ष नारायण बहादुर रानामगर, नव ज्ञानभुमि बोर्डिङ हाई स्कुलका महानिर्देशक अमृत रेग्मी, समाजका सल्लाहकार गोविन्द गुरुङ लगायतले बोलेका थिए।
समिति अध्यक्ष खरेलले पढ्ने संस्कृतिको विकास गर्न पुस्तकालय स्थापना गरिएको भन्दै कार्यक्रममा आएर हौसला बढाउने प्रमुख अतिथि लगायत सहभागी, सहयोगी सबैमा धन्यवाद व्यक्त गरिन्। उनले पुस्तकालयलाई व्यवस्थित ढंगले संचालन गर्न सहयोग र सहकार्यकालागी सबैसँग आग्रह पनि गरिन्।
समाज सेवामा निरन्तर कृयाशिल महिला समितिले पुस्तकालय स्थापना गरेर अत्यन्त सकारात्मक काम गरेको भन्दै स्थानीयले शुभकामना दिएका थिए।
देउसी भैलो खेलेर संकलन भएको रकमबाट महिला समितिले ‘ज्ञानभुमि महिला पुस्तकालय’ स्थापना गरेको हो। देउसी भैलोबाट उठेको रकममध्ये केही मानव सेवा आश्रमलाई दिइएको र बाँकी रकमबाट पुस्तकालय स्थापना गरिएको हो।












