फुटबलमा पूँजीवाद : खाडीको तेलले चलेका क्लबहरू
काठमाडौं, फागुन २० : फुटबल मन नपराउने को होला र ? आफूलाई मन पर्ने क्लब वा खेलाडीले गोल हान्दा रोमाञ्चित हुने र गोल खाँदा खिस्रिक्क पर्ने फुटबलप्रेमीहर....
काठमाडौं, फागुन २० : फुटबल मन नपराउने को होला र ? आफूलाई मन पर्ने क्लब वा खेलाडीले गोल हान्दा रोमाञ्चित हुने र गोल खाँदा खिस्रिक्क पर्ने फुटबलप्रेमीहरू संसारभर छन् ।
स्पेनमा वार्सिलोनाले विजय हासिल गर्दा यूरोपभरि मात्रै होइन, नेपालमै पनि वार्सिलोनाका फ्यानहरू खुशी हुन्छन् । लिभरपुलले गोल हान्दा इङ्ल्यान्डभरि मात्रै खुशी छाउँदैन, नेपालसम्म पनि त्यसको तरङ्ग आइपुग्छ ।
तर, कुनै बेला फुटबललाई औधि माया गर्ने कतिपय फ्यानहरू अहिले आधुनिक आधुनिक फुटबलको विरोधमा छन् । उनीहरूले स्ट्यान्ड अगेन्स्ट मोडर्न फुटबल भन्ने अभियान सुरु गरेका छन् ।
यो अभियानले फुटबलभित्र फस्टाएको पूँजीवादको बिरोध गर्छ ।
करिब दुई दशकअघि सुरू भएको यो अभियानले पूँजीवादीहरूको पकडबाट फुटबललाई मुक्त गर्ने उद्देश्य लिएको छ ।
तर, यो अभियानको मर्म बुझ्नु पहिले फुटबल कसरी सुरू भयो भन्ने बुझ्नु जरूरी छ । अहिले नाम चलेका यूरोपका व्यवसायिक फुटबल क्लबहरूको इतिहास र विरासत धेरै लामो छ । कतिपय क्लबहरू सय वर्षभन्दा पुराना छन् । ती क्लबहरू साथीभाइ मिलेर वा सोसल क्लब र कारखानाबाट सुरू भएका हुन् । बिस्तारै उनीहरू एमेच्योर लिगमा प्रवेश गरे र क्रमिक सफलता पाउँदै गए ।
यी क्लबहरू नाफाका लागि सुरू भएका होइनन्, तर बिस्तारै धनाढ्यको नियन्त्रणमा पुगे र फुटबलमा पूँजीवादको प्रवेश भयाे ।
विश्वका धेरै धनाढ्यहरू फुटबल क्लब किन्न मरिहत्ते गर्छन् । किनकि, फुटबल उनीहरूका लागि खेल वा व्यापार मात्र होइन, प्रतिष्ठा पनि हो ।
पछिल्लो समय खासगरी पेट्रोल बेचेर अकूत सम्पत्ति कमाएका अरबका धनाढ्यहरूले फुटबलमा पैसाको खोलो बगाइरहेका छन् । अहिले यूरोपका अधिकांश एलिट फुटबल क्लबहरूमा ‘ओयल मनि’ छ । तेल व्यापारबाट आएको यो पैसाले नै अहिले धेरै फुटबल क्लबहरू चलिरहेका छन् ।
स्ट्यान्ड अगेन्स्ट मोडन फुटबल अभियानले फुटबलको यही व्यापारीकरणको बिरोध गर्छ ।
अहिले थुप्रै क्लबहरू ओयल मनिबाट लाभान्वित छन् । त्यसमध्ये चेल्सी एक हो । चेल्सीलाई रूसी व्यवसायी रोमन एब्रामोभिचले सन् २००३ मा खरिद गरेका थिए । उनकै लगानीमा चेल्सीले राष्ट्रिय तथा अन्तर्राष्ट्रिय मञ्चहरूमा सफलता पायो ।
बुन्देसलिगाको सायक र रूसी तेल कम्पनी गाजप्रोमबीच निकै पुरानो सम्झौता छ । क्लबको शर्ट र अन्य मर्चेन्डाइजमा गाजप्रोमको लोगो देखिन्छ । उनीहरूको साझेदारी सन् २००७ देखि सुरू भएको हो । प्रायोजन सम्झौतालाई सन् २०२२ सम्म लम्ब्याइएको छ । सन् २०१६ मा भएको उक्त सम्झौता अनुसार क्लबको ‘आउटफिट’मा कम्पनीले एक सय ५० मिलियन युरो लगानी गरेको बाहिर आइसकेको छ ।
सन् २००५ मा गाजप्रोमले रूसी क्लब जेनिट खरिद गर्यो । सन् २०१० देखि गाजप्रोम सर्बियाली टोली रेड स्टार बेल्ग्रेडको पनि प्रमुख प्रायोजक रहँदै आएको छ ।
क्लब किन्ने र पैसा लगाउनेबाहेक गाजप्रोम च्याम्पियन्स लिगको पनि उल्लेखनीय प्रायोजक हो । च्याम्पियन्स लिग र गाजप्रोमको साझेदारी सन् २०१२ देखि सुरू भएको हो । यो साझेदारी सन् २०२१ सम्मलाई विस्तार गरिएको कम्पनीको युरोपेली व्यवस्थापकले सन् २०१८ मा खुलायो ।
विश्वकै ठूला र सफल केही क्लबमा सम्पत्तिको श्रोत नै तेल भएका प्रायोजकहरू रहिसकेका छन् । उदाहरणका लागि रियाल म्याड्रिड, आर्सनल, एसि मिलान र बेनफिकालाई दुबइको इमिरेट्स समूहले प्रायोजन गरेको छ ।
कम्पनीले बुन्देसलिगा खेल्ने हामबर्ग, ग्रिसको ओलम्पियागोस र अमेरिकाको न्युयोर्क कसमोसलाई पनि प्रायोजन गर्दछ । गाजप्रोमजस्तै, इमिरेट्सले पनि फुटबल प्रतियोगिताहरूको प्रायोजनमा हात हालेको छ । इमिरेट्स एफए कप र एसियन फुटबल कन्फेडेरेसनको ‘नेम–स्पन्सर’ हो ।
मेन्चेस्टर सिटिमा पनि युएइको लगानी छ । शेख मन्सुर नेतृत्वको आबु धाबीको सिटि फुटबल ग्रुपले कम्पनीको स्वामित्व लिएको छ । सिटिको मुख्य प्रायोजक एतिहाद एयरवेज हो । यसले क्लबको ‘होम स्टेडियम’ लाई पनि आफ्नो नाम दिएको छ ।
अर्जेन्टिनी फुटबल क्लब बोका जुनियर्स र इटालीको रोमाको जर्सीमा कतार एयरवेजको लोगो छ । कतार राज्यको स्वामित्व रहेका एयरवेजले बार्सिलोनालाई पनि प्रायोजन गरेको थियो । जापानी इन्टरनेट सेवा प्रदायक राकुतेन अहिले बार्सिलोनाको मुख्य प्रायोजक हो ।
फ्रान्सेली क्लब पारि साँ–जर्माको स्वामित्व कतार स्पोर्टस् इन्भेस्टमेन्ट समूहसँग छ । क्लबलाई फ्लाइ इमिरेट्सले पनि प्रायोजन गरेको छ ।
सन् २०२२ मा हुने विश्वकप पनि कतारले आयोजना गर्दैछ ।
फुटबलमा बढिरहेको ‘ओयल मनि’ लगानी विवादमुक्त छैन ।
उदाहरणका लागि, गाजप्रोमसँग आबद्ध भएकैले सायक कठिन अवस्थामा छ । युक्रेन र सिरियाको हिंसात्मक पृष्ठभूमिमा गाजप्रोम र यूरोपेली संघ गम्भीर राजनीतिक विवादमा मुछिएका थिए ।
त्यसैगरी, मध्यपूर्वमा राज्यद्वारा सञ्चालित कम्पनीको स्वामित्व भएका वा त्यस्ता कम्पनीले प्रायोजन गरेका क्लबहरू दबाबमा छन् । एम्नेस्टी इन्टरनेशनलले सन् २०२२ को विश्वकप तयारीमा खटाइएका आप्रवासी कामदारलाई कतारले गर्ने व्यवहारलाई लिएर गम्भीर प्रश्न उठाएको छ भने युएइको खुलेरै आलोचना गर्दै आएको छ ।
लामो इतिहास र परम्परा भएका फुटबल क्लबजस्ता प्रतिष्ठित संस्थाहरू अर्बपतिको खेलौनामा रूपान्तरण भए फुटबल प्रेमीहरू फुटबलबाटै विमुख हुने सम्भावना बढ्छ । यससँगै आउने सम्पत्ति र सफलतालाई केहीले अँगाले पनि, अन्यले सम्पर्क गुमाउँछन् र सुरू हुन्छ – अगेन्स्ट मोर्डन फुटबल’ जस्तो अभियान ।
गोल डट कम र अन्य एजेन्सीहरूमा आधारित






