२० हजार धरौटीमा छुटिन् आशिका तामाङ

काठमाडौं, माघ १८ः आफूलाई अभियन्ता बताउने आशिका तामाङलाई २० हजार रुपैयाँ धरौटीमा रिहा गर्न भक्तपुर जिल्ला अदालतबाट आदेश भएको छ।
तामाङलाई आपराधिक उपद्रव गरेको कसुरमा अदालतमा मुद्दा दायर गरिएको थियो। न्यायाधीश सन्तोषप्रसाद पराजुलीको इजलासले उनलाई शुक्रबार २० हजार रुपैयाँ धरौटीमा छाड्ने आदेश दिएको हो।
सूर्यविनायक नगरपालिकाले साँगास्थित झोलुंगे पुलमा प्रवेश गर्ने व्यक्तिहरूसँग २० रुपैयाँ कर संकलन गर्ने निर्णयविरुद्ध अभियान चलाउनेक्रममा कर्मचारीमाथि दुव्र्यवहार गरेको आरोपसहित उनी माथि ‘आपराधिक उपद्रव’ को मुद्दा दायर भएको थियो। कर संकलनको रसिद खोसेर जलाइदिएको आरोप पनि उनीविरुद्ध लगाइएको छ।
नगरपालिकाको जाहेरी अनुरुप प्रहरी वृत्त जगातीले अनुसन्धान गरेर प्रतिवेदन बुझाएको थियो। सोही प्रतिवेदनका आधारमा मुद्दा चलेको हो। गत माघ १४ गते पनि उनी जिल्ला प्रशासन कार्यालय काठमाडौंबाट अभद्र व्यवहार मुद्दामा १० हजार रुपैयाँ धरौटीमा रिहा भएकी थिइन्। तर धरौटीमा छुटेलगत्तै भक्तपुरको मुद्दामा पुनः पक्राउ परेकी थिइ्न्।
अभद्र व्यवहारकै अर्को आरोपमा तामाङलाई काठमाडौंका प्रमुख जिल्ला अधिकारी ऋषिराम तिवारीले १० हजार रुपैयाँ धरौटीमा रिहा गर्न आदेश दिएका थिए। त्यतिबेला उनलाई पशुपति क्षेत्र विकास कोषका करार कर्मचारीको विवादमा गौशाला बृत्तका डीएसपी शुकदेव खनालसहितका प्रहरीलाई अभद्र व्यवहार गरेको आरोप लगाइएको थियो।
तामाङलाई गत माघ २ गते अभद्र व्यवहार आरोपमा स्वयम्भूबाट पक्राउ गरिएको थियो। उनी काठमाडौंको गौशाला प्रहरी वृत्तमा थुनामा थिइन्। काठमाडौं सिडिओ कार्यालयले धरौटीमा रिहा गरे पनि अर्को मुद्दा चलाउन पक्राउ गदै भक्तपुर लगिएको थियो।












