टाटासुमो दुर्घटना हुँदा आमाछोरासहित तीनजनाको मृत्यु

ओखलढुंगा, माघ १७ः ओखलढुंगाको हर्कपुरमा टाटासुमो दुर्घटना हुँदा तीनजनाको मृत्यु भएको छ।
सिद्धिचरण राजमार्ग अन्तर्गत मानेभन्जयाङ ७ भँडारेखोला भन्ने ठाउँमा गएराती ना १ ज ६४२१ टाटासुमो दुर्घटना भएको थियो। दुर्घटनामा परी आमाछोरासहित तीन जनाको मृत्यु भएको प्रहरीले जनाएको छ।
जिल्ला प्रहरी कार्यालय खोटाङका अनुसार मृत्यु हुनेमा खोटाङको केपीलाखगढी गाउँपालिका ३ की ५६ वर्षीया मायादेवी गुरुङ, उनका छोरा २८ वर्षीय पुजन गुरुङ र सोही ठाउँकी ४५ वर्षीया तारा गुरुङ रहेका छन्। मृतक मायादेवी र पुजन आमा छोरा हुन् भने तारा गुरुङ नातेदार रहेको प्रहरीले बताएको छ।
दुर्घटनापछि चालक फरार छन् । गाडी सडकबाट झण्डै एकसय मिटर तल खसेको थियो। दुर्घटनाको खबर प्रहरीले बिहीबार बिहान मात्र पाएको थियो। प्रहरी टोली घटनास्थलमा पुग्दा तीनजनाको शव घटनास्थलमा भेटिएको थियो।
प्रकाशित मिति: १४:०२ बजे, बिहीबार, माघ १७, २०८१
प्रतिक्रिया दिनुहोस्
थप समाचार