बागमती पुलको स्पान भासिएपछि यात्रामा जोखिम
बागमती पुलको बेरिङ फुट्दा जोडिएको दुई स्परको अन्तर भएको र यसले जोखिम निम्त्याउन सक्ने भएकाले शीघ्र मर्मत गर्नु पर्ने उनको माग छ।-1738128417.jpg)
रौतहट, माघ १६ : पूर्व–पश्चिम राजमार्ग सडक खण्डमा पर्ने बागमती नदीको पुलको एउटा स्पान भासिँएको छ। रौतहट र सर्लाही जिल्लाको सिमनामा पर्ने बागमती पुलको स्पान भाँसिएपछि सवारी दुर्घटनाको उच्च जोखिम बढेको हो।
नेपाल सोभियत संघ मैत्री सहयोग अन्तर्गत करिव ५० वर्षअघि बागमती नदिको पुल बनेको थियो। लामो समय देखि पुल मर्मत सम्भारमा ध्यान नदिँदा क्रमश पुरानो हुँदै भौतिक संरचनाहरु कमजोर भएको चन्द्रपुर नगरपालिका वडा नं. १ का स्थानीय श्रीराम न्यौपानेले बताए।
उनका अनुसार पुलको भारवहन क्षमताभन्दा अधिक लोड भएका ढुवानीका साधनहरु गुड्ने गरेकाले पुल भासिँएको हो। पुलको स्पान भासिँएकाले भारवहन क्षमता अधिक भएका गाडी संचालनमा ध्यान दिनु पर्ने उनको सुझाव छ।
बागमती पुलको बेरिङ फुट्दा जोडिएको दुई स्परको अन्तर भएको र यसले जोखिम निम्त्याउन सक्ने भएकाले शीघ्र मर्मत गर्नु पर्ने उनको माग छ।
सर्लाहीबाट रौतहटतर्फ आउँदा सात नम्बरको स्पर करिब ८ सेन्टिमिटर भाँसिएको डिभिजन सडक कार्यालय चन्द्रपुरले जनाएको छ। बागमती नदिको पुलको बेरिङ फुटेकाले जोडिएका दुई स्पान बीचको अन्तर बढेको डिभिजन सडक कार्यालय चन्द्रपुरका इन्जीनियर प्रकाश यादवले बताए। पुलको एउटा स्पान भाँसिने बित्तिकै पुरै संरचना नै कमजोर हुने कार्यलयले जनाएको छ।
सडक डिभिजन कार्यलयले पुलको जोखिमबारे पुल महाशाखा काठमाडौंलाई पत्र मार्फत जानकारी गराइसकेको छ । पुलमा अधिक भारवहन क्षमताका गाडीमा ध्यान दिन रौतहट र सर्लाहीका ट्राफिक प्रहरी कार्यालयलाई पत्रचार गरिसकेको सडक डिभिजन कार्यालय चन्द्रपुरका प्रमुख अरुण कुमार लाल कर्णले बताए।
उनका अनुसार यस सडकखण्ड भएर जाने भारवहन क्षमताका सवारी साधन पुलमा एक पटकमा एउटा मात्रै सञ्चालन गर्ने व्यवस्था गरिएको छ । अहिले पुलको स्पर केही भाग अग्लो, केही भाग होचो देखिएकाले सवारी साधन चलाउँदा सावधानी अपनाउन सडक डिभिजन कार्यालयले आग्रह गरेको छ।












