कोरोनाको कारण बझाङमा यार्सा टिप्न प्रतिबन्ध
बझाङ, वैशाख १४ : बझाङको हिमाली क्षेत्रमा पाइने यार्सागुम्बा यस वर्ष टिप्न नपाइने भएको छ। विश्वभर कोरोनाको त्रास फैलिरहेको बेला त्यसको संक्रमण र ज....

बझाङ, वैशाख १४ : बझाङको हिमाली क्षेत्रमा पाइने यार्सागुम्बा यस वर्ष टिप्न नपाइने भएको छ। विश्वभर कोरोनाको त्रास फैलिरहेको बेला त्यसको संक्रमण र जोखिमलाई मध्यनजर गर्दै यस वर्ष यार्सा गुम्बा टिप्नमा स्थानीय तहहरुले प्रतिबन्ध गरेका हुन्।
जिल्लाको साइपाल, सुर्मा गाउँपालिका, बुङ्गल नगरपालिकालगायत स्थानीय तहका हिमाली भेगमा पाइने यार्सागुम्बा टिप्नका लागि सधैँजसो वैशाख महिनादेखि जाने गरे पनि यस वर्ष भने मानिसको भीडभाडबाट कोरोनाको संक्रमण बढ्ने भएपछि स्थानीय तहहरुले यार्सागुम्बा टिप्न जानमा रोक लगाएको साइपाल गाउँपालिकाका अध्यक्ष राजेन्द्र धामीले बताए। बझाङ जिल्लाका धेरैजसो मानिसको आयआर्जनको तथा आम्दानीको रूपमा स्रोत यार्सागुम्बा हो।
कतिपय स्थानीय तहका मानिस यार्सा टिपेर आफ्नो घर खर्च तथा छोराछोरीको पढाइ खर्च गर्ने गरेको भए पनि यस वर्ष रोक लगाएपछि आफूहरुलाई घर खर्च चलाउन समस्या हुने र आफूहरु घरमै बसेको साइपाल गाउँपालिकाका बमबहादुर बोहराले बताए। उनले भने, “तीनदेखि चार हजारको उचाइमा पाइने यार्सागुम्बा टिप्नका लागि वैशाखदेखि असार अन्तिमसम्म बझाङ जिल्ला मात्र नभएर छिमेकी जिल्लाका समेत हजारौँ मानिस आउने गरेको उनले बताए।
साथै अघिल्ला वर्षहरुमा घरपरिवारसँगै बालबालिकासमेत लेकतिर जाने भएकाले विद्यायसमेत बन्द हुने गरेका थिए भने तीन महिनासम्म जोखिमयात्रा गरेर टिपेको यार्सागुम्बा प्रतिकेजी नौ–दश लाख रुपैयाँमा बेच्ने गरेको बोहोराले बताए।











