कोरोनाका कारण प्रदेशमा आत्तिनुपर्ने अवस्था छैन : मुख्यमन्त्री राई
भोजपुर, वैशाख १४ : मुख्यमन्त्री शेरधन राईले कोरोना भाइरसका कारण प्रदेश नं १ मा आत्तिनुपर्ने अवस्था नरहेको बताएका छन्। कोरोना रोकथाम तथा नियन्त्रणका ला....

भोजपुर, वैशाख १४ : मुख्यमन्त्री शेरधन राईले कोरोना भाइरसका कारण प्रदेश नं १ मा आत्तिनुपर्ने अवस्था नरहेको बताएका छन्। कोरोना रोकथाम तथा नियन्त्रणका लागि प्रदेश सरकारले समयमै पूर्वतयारी गरेको बताउँदै उनले कसैलाई पनि कोरोनाको त्रासमा नपर्न अनुरोध गरेका हुन्।
भोजपुरको हतुवागढी गाउँपालिकामा कोरोना संक्रमित फेला परेको ठाउँको अवलोकन गर्दै मुख्यमन्त्री राईले भने, 'प्रदेश सरकारको तयारी राम्रो छ, हामीले आत्तिनुपर्ने अवस्था छैन, हामीले शुरुमै सम्भावित परिस्थितिको आकलन गरेर राम्रो तयारी गर्न सकेकाले अहिले देखापरेको संक्रमण सहजरूपमा सामना गर्न सकिरहेका छौँ।'
संक्रमितको संख्या बढ्दै गएको भए पनि प्रदेश सरकारले विराटनगरमा १०० श्ययाको आइसोलेसन अस्पताल तयार गरिसकेको उनले बताए। त्यस्तै उनले कोरोना रोकथामका लागि उच्च सतर्कताका साथ प्रदेश सरकारले काम गरिरहेको बताए। 'संक्रमितको संख्या बढ्दै गएको भए पनि डराउनुपर्ने अवस्था छैन, प्रदेश सरकार आफैँले कोरोना भाइरसको छुट्टै उपचार गर्न अस्पताल निर्माण गरिसकेको छ, आवश्यक परेमा अन्य ठाउँमा पनि निर्माण गर्ने तयारीमा छ, यस प्रदेशमा उपचारमा कुनै पनि कमी हुनेछैन।'
कोरोना देखिएको ठाउँमा स्वास्थ्यकर्मी र स्वास्थ्य उपकरणको कमी हुन नदिने र आवश्यक खर्च तत्काल प्रदेश सरकारले उपलब्ध गराउने मुख्यमन्त्री राईले बताए। 'प्रदेश सरकारले स्थानीय तहमा राहत वितरण तथा स्वास्थ्य उपकरण खरिद गर्नका लागि बजेट विनियोजन गरेको छ भने अन्य थप समस्या आएमा प्रदेश सरकारले सहयोग गर्छ,' उनले भने।
उनले राहतका लागि प्रदेश सरकारले नौ करोड ५० लाख रुपैयाँ बजेट विनियोजन गरेको जानकारी दिए। उक्त रकमबाट महानगरपालिकालाई २० लाख, उपमहानगरपालिकालाई १५ लाख, नगरपालिकाकालाई १० लाख र गाउँपालिकालाई पाँच लाख रुपैयाँका दरले विनियोजन भएको समेत जानकारी दिए।











