Kathmandu Press

चेतनाका संवाहक गुरुङ भाषाका आदिकवि हर्क

उनका गीत तथा कवितामा समाज सुधारका सन्देश पाइन्छ। त्यसैले उनका गीतहरू कास्की, लमजुङ, स्याङ्जाका गाउँहरूमा तत्कालीन समयमा निकै चर्चित रहेको थियो। उनका चर्चित गीति कविता ‘क्युदे थुलेन...’लगायत अन्य रचनाहरू सुनेर गाउँ–गाउँका मान्छेहरू भक्कानिएर रुन्थे रे।
चेतनाका संवाहक गुरुङ भाषाका आदिकवि हर्क

दिदीबहिनी विचार गर
जथाभावी नहोऊ
हात समाई हिँड्न छाडिदेऊ

गाउँभित्र जे भए’नि बजारमा नहोऊ
गाउँमा लाउने मैला लुगा बजारमा नलगाऊ
सिलाई धोई सफा लगाऊ, खिसी पात्र नहोऊ
हात समाई हिँड्न छोडिदेऊ...

माघे संक्रान्तिका दिन पोखराको ढुङ्गेसाँघुमा ठुलो मेला (हाट) लाग्थ्यो। पोखरा आसपासका गुरुङ गाउँका युवायुवतीहरू हुल बाँधेर हाट भर्न जान्थे। हुलमुलमा हराउने डरले उनीहरू एकअर्काको हात समातेर यता र उता गर्थे। मैलाधैला लुगा लगाएका लेग्रो तानेर बोल्ने उनीहरूलाई हटियामा पसल राख्ने मात्र होइन हाट भर्न आउने अन्यले पनि ‘असभ्य पाखे’ भनेर हेप्थे। गिल्ला गर्थे।

Hardik ivf

गुरुङ युवायुवतीप्रति अरुको यस्तो नजर र व्यवहारले स्याङ्जाको फेदीखोला गाउँपालिका– १, साल्मेका एक सचेत गुरुङ युवाको मन नराम्ररी कुँडिन्थ्यो। त्यसैले उनले गाउँघरका गुरुङ युवायुवतीमा चेतनाको दियो बाल्न एउटा गीति कविता रचना गरे। अनि आफैँ भाका हालेर गाउँ–गाउँ घुमे।

सात दशकअघि यसरी गीति कविता रचना गरेर गाउँघरमा चेतना फैलाउँदै जाने क्रममा उनका सिर्जनाको संख्या दर्जनौँ पुग्यो। अन्ततः उनका रचनाहरूको सँगालो क्युदे थुँलेन् २०१६ सालमा प्रकाशित भयो। श्रीप्रसाद गुरुङको पहल र तत्कालीन मन्त्री नरबहादुर गुरुङको सहयोगमा प्रकाशित हर्कबहादुर गुरुङको गीति पुस्तक क्युदे थुँलेन्को दोस्रो संस्करण स्याङ्जा सिरुबारीका ईश्वरबहादुर गुरुङको सहयोगमा २०२२ मा प्रकाशन भयो भने तेस्रो संस्करण २०५८ मा तमू युवा सांस्कृतिक परिवार, पोखराले ग¥यो।

चेतनामुलक गीति सङ्ग्रह क्युदे थुलेन् २०७९ मा चाहिँ तमू आदिकवि हर्कबहादुर गुरुङ स्मृति प्रतिष्ठानले प्रकाशन गरेको छ। फेदीखोला गाउँपालिका प्रकाशन सहयोगी रहेको पुस्तकका लागि मिलिजुली तमू समाज, काठमाडौँ र हाइलाइट्स टुरिजम सहयोगी संस्थाका रूपमा रहेको छ। क्युदे थुँलेन्को चौथो संस्करण चाहिँ अघिल्ला संस्करणहरूभन्दा फरक आकर्षक कभर (गाता) रहेको छ भने उनका सिर्जनाहरूको खस नेपालीमा भावानुवाद र खेमालिपिमा लिप्यान्तर पनि गरिएको छ।

गहना नमाग चेली हो
त्यो गहनाले घरखेत गैजान्छ
सुन लाएर राम्रो हुन्न, छोड सुन लाउन
इलम ठूलो लेखापढी, सिकाइदेऊ भन
गहना लगाई युग जान्न, गहना नलाइदेऊ
गहना नल्याई हुन्न भन्ने, बानी छोडिदेऊ
गहना नमाग चेली हो...

यो क्युदे थँलेन्मै समावेश गीति कवितामध्ये एउटा कविताको छोटो अंश हो। यस कवितामा उनले नारीहरूलाई गहना होइन शिक्षामा ध्यान दिन आग्रह गरेका छन्। देवबहादुर गुरुङ र बुद्धिश्री गुरुङको माइला छोराका रूपमा विसं. १९९३ माघ ११ गते जन्मिएका उनी गाउँघरमा ‘साल्मे माइला’ भनेर परिचित थिए’। त्योबेला गुरुङ समुदायका सबैजसो युवाको एक मात्र लक्ष्य हुन्थ्यो, लाहुरे बन्ने। तर हर्कबहादुरले भने सानैदेखि पढाइमा रुचि राखे।

474192645_9017092201738050_4565913154683703071_n-1737699939.jpg

बाल्यकालमा अलिक चञ्चले स्वभावका उनी गीत गाउन सौखिन थिए। सानैदेखि पढाइमा लगनशील उनले २०११ सालमा पोखरामा अध्ययन गर्न थालेदेखि गुरुङ भाषामा गीत तथा कविता रचना गर्न तथा गाउन थाले। माध्यमिक तहको अध्ययनका लागि काठमाडौँ आएका उनले २०१७ सालमा रेडियो नेपालमा गीत पनि रेकर्ड गराएको बताइन्छ। यद्यपि उनले रेडियोमा रेकर्ड गराएको गीत चाहिँ अहिलेसम्म रेडियो नेपालको अर्काइभमा पनि भेटिएको छैन।

२०१८ सालमा काठमाडौँको जुद्धोदय पब्लिक हाइस्कुलबाट एसएलसी उत्तीर्ण गरेपछि भने उनी गाउँ फर्किए र स्थानीय प्राथमिक विद्यालयमा प्रधानाध्यापक भए। चार वर्षपछि २०२२ सालमा शिक्षण पेशा छाडेर उनले भूमिसुधार कार्यालयमा खरिदारको जागिर सुरु गरे।

अरुलाई हेर आज कहाँ कहाँ पुगिसके
चन्द्रलोक, इन्द्रलोक नजिकै भइसके
ठमठम गरी हिँडौँ पहिले टाकुरामा पुगौँ
जसरी नि अघि हिँडौँ, पछाडि नपरौँ

हर्कबहादुर गुरुङले आफ्नो कवितामार्फत पछाडि फर्केर होइन सधैँ अघि बढ्न आग्रह गरेका छन्। संसारले गरेको प्रगतितर्फ हेर्दै त्यो उपलब्धीलाई आदर्श मान्नु पर्ने उनले सिर्जनामार्फत स्पष्ट पारेका छन्।

गुरुङ समुदायको संस्कार, संस्कृतिमा सुधार ल्याउनुपर्ने विषयमा पनि उनले गीति कवितामार्फत आफ्नो धारणा राखेका छन्। त्यस्तै सांस्कृतिक जागरणका कुरा उनको कवितामा पाइन्छ। ल्होछार आएछ शीर्षकको कवितामा उनी लेख्छन्,

ल्होछार आएछ, हामी गुरुङहरू वनभात खान जाऔँ
दसैँ, तिहार हाम्रा रहेनछन्, दसैँ तिहार त्यागौँ
राम्रा लगाऔँ मीठा खाऔँ ल्होछार आएछ जाऔँ
इष्टमित्र जम्मा भएर मीठा–मीठा खाऔँ
दसैँ तिहार हाम्रा रहेनछन्, ल्होछार रहेछ
कुरा नबुझेर बाटो नचिनेर अरुका पछि हिँडिएछ

उनका गीत तथा कवितामा समाज सुधारका सन्देश पाइन्छ। त्यसैले उनका गीतहरू कास्की, लमजुङ, स्याङ्जाका गाउँहरूमा तत्कालीन समयमा निकै चर्चित रहेको थियो। उनका चर्चित गीति कविता ‘क्युदे थुलेन...’लगायत अन्य रचनाहरू सुनेर गाउँ–गाउँका मान्छेहरू भक्कानिएर रुन्थे रे।

तमू युवा सांस्कृतिक परिवार, पोखराले २०५८ असोज ६ गते एक कार्यक्रम गरी हर्कबहादुर गुरुङलाई पहिलो तमू कवि तथा गीतकारको रूपमा अभिनन्दनसमेत गरेको थियो। २०५९ सालमा काठमाडौँमा बृहत कार्यक्रम गरी तमू सांस्कृतिक प्रतिष्ठानले ‘तमू आदिकवि’ घोषणा गरी नगदसहित सम्मान गरेपछि उनलाई सबैले तमू आदिकविका रूपमा सम्मान गर्दै सम्बोधन गर्न थालेको पाइन्छ।

२०६१ सालमा तमू युवा सङ्घ, काठमाडौँले उनको परिचयात्मक वृत्तचित्र ‘ङ्योए, ओंसो क्वे प्रिव म्हि’ निर्माण गर्नुका साथै उनको जन्मदिन मनाइदिएको थियो। त्यस्तै तमू (गुरुङ) सञ्चारकर्मी सङ्घले पनि २०६६ सालमा काठमाडौँमा उनको जन्मदिन धुमधामका साथ मनाइदिएको थियो। २०६७ साल साउन १ गते उनले काठमाडौँको नर्भिक अस्पतालमा उपचारका क्रममा देह त्याग गरे।

नेपाल सरकारले गुरुङ भाषाको पाठ्यक्रमअन्तर्गत कक्षा ४ मा उनको जीवनी समावेश गरेको छ भने भारतको सिक्किम सरकारले पनि कक्षा ९ को पाठ्यपुस्तकमा उनको जीवनी खेमालिपिमा समावेश गरेको छ। त्यस्तै फेदीखोला गाउँपालिकाले आफ्नो स्थानीय पाठ्यक्रमअन्तर्गत कक्षा ८ को पुस्तकमा उनको जीवनी समेटेको छ। त्यस्तै उनका कृतिका संरक्षण गर्दै विभिन्न गतिविधि गर्न तमू आदिकवि हर्कबहादुर गुरुङ स्मृति प्रतिष्ठान पालिकामा दर्ता भइसकेको छ।

उनको सम्मानार्थ गाउँपालिकाले वडा नं.– १, रामकोट, देउरालीमा एक रोपनी क्षेत्रफलको जग्गा छुट्याई आदिकवि हर्कबहादुर गुरुङ स्मृति पार्क पनि निर्माण गरेको छ। जहाँ उनको अर्धकदको शालिक निर्माण गरिएको छ। त्यस्तै प्रतिष्ठानले हरेक वर्ष गाउँपालिका र अन्य विभिन्न संस्थासँगको सहकार्यमा फेदीखोला गाउँपालिकास्तरीय अन्तरविद्यालय कविता लेखन तथा वाचन प्रतियोगिता आयोजना गर्दैै आएको छ भने शालिकमा माल्यार्पण गरेर जन्मजयन्ती विशेष कार्यक्रम पनि गर्ने गरिएको छ।
मान्छेको भौतिक शरीर नष्ट भए पनि कृति कहिल्यै मर्दैन। सर्जकहरू आफ्नो सिर्जनामा बाँचिरहेका हुन्छन्। तमू आदिकवि हर्कबहादुर गुरुङ पनि आफ्नो सिर्जनामा बाँचिरहेका छन्।
 

प्रकाशित मिति: १२:११ बजे, शुक्रबार, माघ ११, २०८१
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्