Kathmandu Press

हाम्रो अविचलित यात्रा सातौं वर्षमा   

आवाजविहीन वर्गको पक्षमा पूर्ण समर्पित रहँदै विकृति र व्यथितिविरुद्धको खवरदारी अभियान निरन्तर जारी रहने छ। समृद्धिको यात्रामा स्थानीय विषयलाई पनि राष्ट्रिय खबर बनाउने हाम्रो ध्येय रहने छ।
हाम्रो अविचलित यात्रा सातौं वर्षमा   

समाचार र विचारमार्फत देश सेवा गर्ने पवित्र उद्देश्यसहित स्थापना भएको ‘काठमाडौं प्रेस डटकम’ आजबाट सातौं बर्षमा प्रवेश गरेको छ।  

प्रविधिको द्रुत विकाससँगै अनलाइन माध्यमले व्यापकता लिइरहेको त्यस समयमा हाम्रा सामु व्यावसायिक अभ्यासमा खरो रुपमा उत्रन अनेक चुनौतिहरू थिए। अनलाइन सुरु भई बामे सर्ने बेलामा विश्वव्यापी कोभिड महामारी सुरु भएर थुपै्र कठिनाइको सामना गर्नुपरेको अवस्था थियो। 

कोभिडका कारण आर्थिक गतिविधि ठप्प हुँदा अनलाइन टिकाएर दिगो बनाउन विभिन्न व्यवधान खडा नभएको पनि होइन। त्यसपछि चौतर्फी आर्थिक मन्दीका कारण बजेट, स्रोत, साधन, जनशक्ति, प्रविधि यावत कारणले संकटको सामना गर्नुपर्ने अवस्था आइपर्‍यो।

Hardik ivf

वर्तमानमा उभिएर विगततर्फ फर्केर हेर्दा ति चुनौतिहरूले नै संघर्ष गर्दै अघि बढ्न पाठ सिकायो। तर पनि आम नागरिकको सूचना पाउने हकलाई जीवन्त राख्न दत्तचित्त भएर हामी अघि बढ्यौं। अनलाइन न्यूज पोर्टलहरू बाक्लिँदै गएको त्यस क्षणमा काठमाडौं प्रेस डटकम अनुभवबाट सिक्दै, खारिँदै, माझिँदै आजको दिनसम्म आइपुगेको छ। 

आज हामीले अनलाइनको प्राविधिक पक्षमा आफूलाई केही फरक स्वादमा प्रस्तुत गर्न सकेका छौं। अनलाइनहरू भीडमा फरक र प्रभावशाली बनाउन बनाउन पक्कै पनि अझै चुनौतिहरूको सामना गर्नु पर्नेछ। तर आफू दरिने र स्थापित हुने नाममा हामीले कहिल्यै भ्रामक, कपोलकल्पित र मिथ्या सामग्री प्रकाशन गरी आफ्नो व्यावसायिक धर्मबाट च्यूत भएका छैनौं र हुने छैनौं। यो हाम्रो प्रतिवद्धता हो। 

पत्रकारिताको दुनियाँमा अनलाइन माध्यम पढ्ने, सुन्ने र हेर्ने तिनै कोणबाट लोकप्रिय बन्दै गएको छ। यसका अलवा व्यापारका दृष्टीले विकाउ समाचारमा बढी ध्यान गइरहेको सन्दर्भ पनि एकातिर छँदैछ। हामीलाई राम्ररी थाहा छ, सूचना दिनु मात्र पत्रकारिता होइन। पत्रकारिताको धर्म र मान्यताका आधारमा अडेर पत्रकारिता चल्दछ। यति मात्रै भएर पनि पुग्दैन। सूचना सम्प्रेषणमा गुणस्तर वृद्धि र विश्वसनियता पनि चाहिन्छ नै। ‘काठमाडौं प्रेस डटकम’ थप परिपक्व हुँदैछ। हामी आम पाठकसम्म पुग्नेक्रममा निःसन्देह सरकारी, गैरसरकारी संस्था, व्यापारी र कर्पोरेट हाउससँग जोडिने छौं। तर सूचना र विचारको मुल मर्मबाट विमूख हुनेछैनौं। पत्रकारिताको मुल मर्मलाई आत्मसाथ गर्नेछौं। 

हाम्रा मूल सम्पत्ति भनेका नै पाठक वर्ग हुन्। हाम्रा सामाग्रीले नै विज्ञापनदाता र पाठकहरू आकर्षित हुनेछन् भन्ने विश्वास हामीलाई छ। 

सबै वर्ग र समुदायको विचारलाई आम नागरिकमाझ पुर्‍याएर फुल्न, फक्रिन दिने उद्देश्य ‘काठमाडौं प्रेस’ले बोकेको छ। नेपाली सञ्चारमाध्यमलाई निष्पक्ष भएर भूमिका निर्वाह गर्न संविधानले सुम्पेको दायित्व व्यवहारबाटै पुरा गरेर देखाउने प्रतिवद्धता हाम्रो छ। प्रेस स्वतन्त्रतासमग्र नागरिकको हितमा हुनुपर्ने मान्यतालाई शिरोपर गर्दै स्वेच्छाचारिता हुन नदिनेतर्फ हामी सचेत छौं। सही सूचना र विचारले नै नागरिकमा जागरण ल्याउने छ। चुनौतिहरु एक मात्र छैनन्। यतापट्टी संचारमाध्यमबीच अस्वस्थ प्रतिस्पर्धाको अर्को चक्र पनि छँदैछ। बजारमा टिकेर आजको दिनसम्म आइपुग्न हामीमा आफ्नै संघर्षको कथाव्यथा र थुप्रै अनुभवको संगालो छ। 

निरन्तर प्रवाहमा छौं। सायद पूर्णता भन्ने चिज कहिल्यै हुँदैन। अग्रगतितर्फको यात्रा निरन्तर जारी छ। जुनसुकै परिस्थितिमा पनि सदैव लोकतन्त्र र परिवर्तनको पक्षमा उभिने छौं। ६ वर्षे अवधिमा ‘काठमाडौं प्रेस’ महत्वपूर्ण राजनीतिक घटनाक्रमको प्रत्यक्ष साक्षी समेत बनेको छ। हामी अजका दिन यसर्थ खुशी छौं– प्राविधिक पक्षमा फरक प्रस्तुति दिँदै हजारौंको भिडमा चाँडो स्थापित हुन सकेका छौं। यद्यपि, हिजोको कोरोना कहर, आर्थिक मन्दी, विज्ञापन बजारको सिण्डिकेट, स्वरोजगारमूलक मिडिया जगेर्नामा सरकारी दृष्टिकोणको अभावजस्ता अनेक कारण अरु क्षेत्रले झैं हामीले पनि आर्थिक मारबाट सन्तोषको शास फेर्न अरु संघर्ष गर्नुपर्ने छ। समस्या छन्, तै पनि थाकेका छैनौं, बरु अनुभवबाट थप जागेका छौं। 

फेरि पनि दोहोर्‍याएर भन्छौं, यावत जटिलताकाविच पाठक वर्गको विश्वास नै हाम्रो अमूल्य सम्पत्ति बनेको छ। यो विश्वासलाई कदापी मर्न दिने छैनौं। आवाजविहीन वर्गको पक्षमा पूर्ण समर्पित रहँदै विकृति र व्यथितिविरुद्धको खवरदारी अभियान निरन्तर जारी रहने छ। समृद्धिको यात्रामा स्थानीय विषयलाई पनि राष्ट्रिय खबर बनाउने हाम्रो ध्येय रहने छ। नेपाली समाजको साँस्कृतिक, भाषिक एवम् राजनीतिक चरित्रलाई बुझेर हमेसा विविधताको पक्षमा आवाज बुलन्द गरिरहने छौं। काठमाडौं प्रेस परिवार निरन्तर लागिरहने छ।

अन्त्यमा, काठमाडौं प्रेसलाई यहाँसम्म ल्याइपुर्‍याउने पाठक वर्ग, उद्याेगी, व्यवसायी, विज्ञापनदाता, शुभचिन्तक सबैप्रति हृदयदेखि नै आभार व्यक्त गर्दछौं। यहाँहरुको सुझाव, माया र सहयोग नै हाम्रा प्रेरणाका स्रोत हुन्। फेरि पनि विश्वास छ, आगामी दिनमा पनि यो माया र सद्भावको हात झनै फैलने छ। सधैं झैं सबैसँगको सहकार्य र सकारात्मक आलोचनाको अपेक्षा छ। सकारात्मक आलोचनासँगै प्राप्त सुझावले सही मार्गदर्शन गर्ने हाम्रो ठम्याइ छ। यहाँहरुको सुझाव अनुसार काठमाडौं प्रेसलाई थप परिमार्जन गर्दै फरक स्वाद पस्किने छौं। कतै कमजोरी छन् भने स्वीकार्न र सुधार्न हामीलाई कत्ति पनि हिचकिचाहट छैन। 

फेरि पनि सधैं झैं सहकार्य, सद्भाव, शुभेच्छा एवम् सकारात्मक आलोचनाको अपेक्षा राखेका छौं। आजको दिन सबै सहयोगी मनप्रति हार्दिक धन्यवाद दिन चाहन्छौं।

प्रकाशित मिति: ०७:१० बजे, बिहीबार, माघ १०, २०८१
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्