सैफ अली खान डिस्चार्ज
बलिउड अभिनेता सैफ अली खान अस्पतालबाट डिस्चार्ज भएका छन्।काठमाडौं, माघ ८ : बलिउड अभिनेता सैफ अली खान अस्पतालबाट डिस्चार्ज भएका छन्।
गत विहीबार (माघ ३ गते) मुम्बईको बान्द्रास्थित घरमै चक्कु प्रहार हुँदा घाइते भएका खान उपचारपछि मंगलबार दिउँसो अस्पतालबाट डिस्चार्ज भएका हुन्।
उनी बान्द्रास्थित लिलावती अस्पतालमा उपचाररत थिए। पाँच दिन पछि उनी डिस्चार्ज भएर श्रीमती करीना कपुरसँगै घर फर्किएको बिबिसीले जनाएको छ।
५४ वर्षीय खानमाथि गत बिहीबार बिहान ३ बजे उनकै घरभित्र प्रवेश गरी चक्कु प्रहार गरेका थिए।
चक्कु प्रहार गर्ने ३० वर्षीय विजय दास भनिने शरीफुल इस्लाम शेहजाद मोहम्मद रोहिल्ला अमिन फकिर पक्राउ परिसकेका छन्।
आइतबार पक्राउ परेका उनीमाथि अनुसन्धानका लागि प्रहरीले पाँच दिनको म्याद पाएको छ। प्रहरीको अनुसन्धानबाट ती व्यक्तिलाई उक्त घरमा को बस्छन् भन्ने थाहा नभएको र चोरीका लागि प्रवेश गरेको खुलेको छ।
बिहान ३ बजे घरभित्र प्रवेश गर्दा सैफ आफ्ना दुई छोरा र एक सहयोगीसँग घरमा थिए। उनकी श्रीमती करीना दिदी सोनाम कपुरसँग डिनर पार्टीमा थिइन्।
विजय दास घरभित्र प्रवेश गरेपछि सैफका सहयोगीले रोक्ने प्रयत्न गरेका थिए। त्यसक्रममा दुई जनाबीच मुठभेड पनि पनि भएको थियो।
पछि सैफ आफै आफ्ना सहयोगीलाई आक्रमणकारीबाट बचाउन गएका थिए। सैफसँग केहीबेर घम्साघम्सी भएपछी ती व्यक्तिले सैफमाथि चक्कु प्रहार गरी घरबाट फरार भएका थिए।
लगत्तै सैफलाई लिलावती अस्पताल पुर्याइएको थियो। उनीको शरीरका ६ ठाउँमा चोट लागेको थियो। डाढको चोट भने गहिरो रहेको र त्यहाँ चक्कुको सानो टुक्रा नै फेला परेको डाक्टरहरूले बताएका छन्।
लगातार पाँच घन्टाको सर्जरीपछि उनको चक्कुको टुक्रा निकालिएको थियो। त्यसपछि आइसियुमा राखेर सैफको उपचार गरिएको थियो।
उनी खतरामुक्त भएसँगै मंगलबार डिस्चार्ज गरिएको बिबिसीले जनाएको छ।