Kathmandu Press

कर्णालीमा कोभिड-१९ को परीक्षण तीव्र पारिँदै, थपियो पीसीआर

वीरेन्द्रनगर, वैशाख १३ : कर्णाली प्रदेशमा कोभिड–१९ को परीक्षण दायरा तीव्र पार्न रियल टाइम–पोलिमर चेन रिएक्सन (आरटी–पिसिआर) मेसिन थप ....

कर्णालीमा कोभिड-१९ को परीक्षण तीव्र पारिँदै, थपियो पीसीआर

वीरेन्द्रनगर, वैशाख १३ : कर्णाली प्रदेशमा कोभिड–१९ को परीक्षण दायरा तीव्र पार्न रियल टाइम–पोलिमर चेन रिएक्सन (आरटी–पिसिआर) मेसिन थप गरिएको छ।

प्रदेश सरकारको अनुरोधबमोजिम स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले परीक्षण तीव्र पार्न त्रिभुवन विश्वविद्यालयका माइक्रोबायोलोजिष्टसहित पिसिआर मेसिन पठाएको हो। मन्त्रालयले प्रयोगशालामा परीक्षण शुरु गर्न सहयोगका लागि विभागका प्रमुखसहित चार कर्मचारीलाई खटाएको छ। 

विभागका प्रमुख सहप्राध्यापक डा मेघराज बञ्जाराको नेतृत्वमा अर्का सहप्राध्यापक डा देवराज जोशी, अनिल शाह र विराज लोहनी सुर्खेत आइपुगेका छन्। जर्मनीमा बनेको कोरोना भाइरस जाँच्ने ठूलो क्षमताको पिसिआर मेसिन पशु स्वास्थ्य प्रयोगशालामा जडान गरिँदैछ। 

हाल प्रदेश अस्पताल कालागाउँमा मात्रै पिसिआर मेसिन छ। यसको परीक्षण क्षमता कम हुनाका साथै ‘क्रस भेरिफिकेसन’ गर्न आवश्यक परेकाले स्वास्थ्य मन्त्रालयले त्रिविका विशेषज्ञसहित पठाएको हो । प्रदेश सरकारका सामाजिक विकासमन्त्री दल रावलले अब ‘क्रस भेरिफिकेसन’को काम प्रदेश अस्पताल सुर्खेतबाटै हुने बताए। यसअघि सुर्खेतमा रहेको पिसिआर मेसिनबाट कोरोना भाइरस परीक्षण गरिए पनि अन्तिम टुङ्गो लगाउन (क्रस भेरिफिकेसन) भन्दै सङ्क्रमण आशङ्का गरिएका व्यक्तिको स्वाब काठमाडौंँ पठाउनुपर्ने बाध्यता थियो। 

प्रदेश अस्पतालमा रहेको मेसिनले दैनिक १० देखि १४ वटा स्वाबको परीक्षण गर्न सक्छ। त्यही कारण कर्णालीमा सङ्कलित स्वाबका नमूना काठमाडौँ र धनगढी पठाउने गरिएको थियो। पिसिआर थपसँगै अब कोरोना आशङ्कितको स्वाब नमूना काठमाडौँ पठाउनुपर्ने बाध्यता हट्ने विश्वास गरिएको छ। 

प्रदेश स्वास्थ्य निर्देशनालयका ल्याब संयोजक ओम आचार्यले जनशक्ति र अन्य सामानको उपलब्धताका आधारमा नयाँ मेसिनबाट करीब ४५ वटासम्म प्रोसेसिङ गर्न सकिने बताए। उनले भने, “मेसिन आएपछि स्वाब सङ्कलन र परीक्षणलाई तीव्रता दिइनेछ, सङ्कलित स्वाबका नमूना बाहिर पठाउनुपर्ने अवस्था रहँदैन।”

असई बेपत्ता

पूर्वी सुर्खेतको गुर्भाकोट नगरपालिकाको सभागृहमा सञ्चालित क्वारेन्टाइनको सुरक्षामा खटिएका सशस्त्र प्रहरी बलका सहायक निरीक्षक बेपत्ता भएका छन्। जिल्ला प्रहरी कार्यालय सुर्खेतका अनुसार सशस्त्र प्रहरी सुरक्षा बेस क्याम्प गुल्मीमा कार्यरत प्रसनि भूपाल कार्की शुक्रबार साँझ बेपत्ता भएका हुन्। 

जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी गोपाल रायमाझीले काम सकेर मेहेलकुना खैरेनीस्थित भेरी नदीमा नुहाउने क्रममा उनी बेपत्ता भएको जानकारी दिए। उनको खोजीका लागि सशस्त्र प्रहरीको गोताखोर तथा नेपाल प्रहरीको टोली परिचालन गरिएको छ। असई कार्की गुर्भाकोट–६ कै स्थायी बासिन्दा हुन्। रासस

प्रकाशित मिति: १५:२१ बजे, शनिबार, वैशाख १३, २०७७
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्