बेलायतमा कोरोनाको संक्रमणबाट खोटाङकी एक युवतीको मृत्यु, १२ जना संक्रमित
काठमाडाैं, वैशाख १३ : कोरोना भाइरसको सङ्क्रमणबाट बेलायतमा खोटाङकी एक युवतीको मृत्यु भएको छ। ऐसेलुखर्क गाउँपालिका–१ राखाबाङ्देल पु्ख्र्यौली ....

काठमाडाैं, वैशाख १३ : कोरोना भाइरसको सङ्क्रमणबाट बेलायतमा खोटाङकी एक युवतीको मृत्यु भएको छ। ऐसेलुखर्क गाउँपालिका–१ राखाबाङ्देल पु्ख्र्यौली घर भई हाल धरान आदर्श विकास टोलमा बस्दै आएकी ३२ वर्षीय बिमा नाछिरिङ राईको बेलायतमा मृत्यु भएको हो।
मिर्गौलासम्बन्धी समस्याबाट पीडित बिमालाई कोरोनाको सङ्क्रमण भएको पुष्टि भएपछि बेलायतस्थित जर्ज इलियट अस्पतालमा भर्ना गरेर उपचार गर्ने क्रममा मृत्यु भएको समाजसेवी एवं ब्रिटिस गोर्खा भेट्रान एशोसिएशनका महासचिव भीम सारुले बताए। अहिलेसम्म अविवाहित रहेकी बिमाको मङ्गलबार मृत्यु भएको हो।
उनी पूर्व गोरखा सैनिक बाबुसँगै बस्न गत वर्ष बेलायत पुगेकी थिइन् । बुबा, आमा र बहिनीका साथमा बेलायतस्थित नटिङ्घम बस्दै आएकी बिमाको कोरोना भाइरसको सङ्क्रमणबाट मृत्युको विषयमा किराँत रदु नाछिरिङ साखाम केन्द्र केन्द्रीय समिति नेपालले आफ्नो फेसबुक पेजमार्फत दुःख व्यक्त गरेको छ।
यसैबीच बेलायतमा बस्दै आएका १२ खोटाङ्गेलाई कोरोना सङ्क्रमण भएको खोटाङ सेवा समाज युकेले जनाएको छ। समाजले अप्रिल २१ मा जारी गरेको अपिलमा फल्कस्टोनमा एक, बेजिङस्टकमा छ, आशफोर्डमा तीन तथा क्याट्रिक र ओकिङमा एक÷एक जना खोटाङ्गे सङ्क्रमित भएको उल्लेख छ। उनीहरुको अहिले बेलायतस्थित विभिन्न अस्पतालमा उपचार भइरहेको जनाइएको छ। बेलायतमा उपचाररत सङ्क्रमित सबैको अवस्था अहिलेसम्म सामान्य रहेको खोटाङ सेवा समाज युकेले जनाएको छ।
यता १० स्थानीय तह रहेको खोटाङ जिल्लामा अहिलेसम्म कोरोना सङ्क्रमित भेटिएका छैनन्। छिमेकी जिल्ला उदयपुरमा एकैदिन १२ सङ्क्रमित भेटिएलगत्तै खोटाङ प्रवेश गर्ने सम्पूर्ण नाका हप्ता दिनका लागि बन्द गरिएको छ।
कोरोना भाइरस रोकथाम तथा नियन्त्रण जिल्ला समन्वय समिति खोटाङले जिल्ला प्रवेश गर्ने सम्पूर्ण नाका हप्ता दिनका लागि बन्द गर्ने घोषणा गरे पनि बाहिरी जिल्लाबाट प्रवेश गर्नेको सङ्ख्या रोकिएको छैन। लकडाउनका कारण यातायात सञ्चालन नभएपछि रोकिएर बसेका स्थानीय बासिन्दा समस्यामा परेको गुनासो आउन थालेसँगै स्थानीय तहले उद्धार शुरु गरेको छ। रासस











