स्वाब संकलनका लागि प्रदेश २ मा आठ टोली परिचालन
सर्लाही, वैशाख १३ : प्रदेश नम्बर २ को सर्लाही जिल्लाको धनकौल गाउँपालिका–५ बस्ने एक किशोरमा कोरोना सङ्क्रमित पुष्टि भएपछि उनको परिवारक....

सर्लाही, वैशाख १३ : प्रदेश नम्बर २ को सर्लाही जिल्लाको धनकौल गाउँपालिका–५ बस्ने एक किशोरमा कोरोना सङ्क्रमित पुष्टि भएपछि उनको परिवारका सदस्यको स्वाब संकलनका लागि स्वास्थ्यकर्मीको टोली परिचालन गरिएको छ।
यस सम्बन्धमा प्रदेश नम्बर २ को समाजिक विकास मन्त्रालयका सचिव डा रामप्रसाद घिमिरेले शुक्रबार पत्रकार सम्मेलनमार्फत सो जानकारी गएका हुन्। उक्त किशोरको वैशाख ५ गते आरडिटी परीक्षण गर्दा पोजिटिभ नतिजा आएपछि पिसीआर मेसिनबाट परीक्षणका लागि स्वाब लिएर राष्ट्रिय प्रयोगशालामा परीक्षणका लागि पठाइएको थियो। त्यहाँबाट वैशाख ११ गते किशोरको रिपोर्ट पोजेटिभ आएपछि उनको परिवारका साथै सम्पर्कमा आएका व्यक्तिको स्वाब सङ्कलनका लागि टोली खटिएको हो।
दिल्लीमा बस्दै गरेका किशोर चैत २३ गते भारतको चम्पारण जिल्लास्थित ढाकाको क्वारेन्टाइनमा आठ दिन बसेका थिए। त्यहाँबाट उनीसहित आठ जना एम्बुलेन्समा बसेर रौतहटको बैरगनिया आएको र त्यहाँबाट एक जनालाई साथमा लिएर आफ्नो घर हरकट्वा आइपुगेको सचिव डा घिमिरेले बताए। परिवारका सदस्यले उनलाई घरमा बस्न नदिएपछि स्थानीय विद्यालयको क्वारेन्टाइनमा बसेका थिए । किशोरको यात्राका साथै सम्पर्क गरेको व्यक्तिको खोजीकार्य पनि भइरहेको उनले बताए।
यसैबीच प्रदेश नं २ मा एक हजार ५०० जनाको स्वाब सङ्कलन गर्ने उद्देश्यका साथ केन्द्रका छ र प्रदेशका दुई गरी आठ स्वास्थ्यकर्मी टोली प्रदेशका आठवटै जिल्लामा परिचालन भएका छन्। सो टोलीलाई स्थानीय स्वास्थ्यका प्राविधिकले समेत सहयोग गर्नेछन्। ती स्वाबको रिपोर्टपछि यस प्रदेशमा कोरोनाको वस्तुस्थितिबारे जानकारी प्राप्त हुने उनले बताए।
यस प्रदेशमा अहिलेसम्ममा चार हजार ३३१ जनाको आरडिटी परीक्षण गरिएको छ। सोअन्तर्गत सप्तरीमा ७१५, सिरहामा ३२१, धनुषामा ३१०, महोत्तरीमा १५०, सर्लाहीमा १२५, रौतहटमा ४४१, बारामा १२९ र पर्सामा दुई हजार ९८ को आरडिटी परीक्षण गरिएको हो। यसका साथै ६६६ जनाको पिसीआर गरिएकामा ६१६ को रिपोर्ट नेगेटिभ आएको, ४५ को रिपोर्ट आउन बाँकी रहेको छ भने पाँच कोरोना सङ्क्रमित छन्। ती पाँचै जनाको वीरगञ्जस्थित नारायणी अस्पतालमा उपचार भइरहेको छ।
यस प्रदेशमा एक हजार ३६६ क्वारेन्टाइनमा, एक हजार ६३९ होम क्वारेन्टाइनमा र १३ जना आइसोलेसनमा रहेको सचिव डा घिमिरेले जानकारी दिए। रासस











