रवि लामिछाने कम्तिमा दुई दिन काठमाडौं प्रहरीको हिरासतमा रहने
राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने कम्तिमा दुई दिन काठमाडौं प्रहरीको हिरासतमा रहने पक्कापक्की भएको छ।
काठमाडौं, पुस २९ : राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने कम्तिमा दुई दिन काठमाडौं प्रहरीको हिरासतमा रहने पक्कापक्की भएको छ।
काठमाडौंको स्वर्णलक्ष्मी सहकारी ठगी मुद्दामा मंगलबारदेखि सुरू भएको थुनछेक बहस नसकिएपछि उनी कम्तिमा अरू दुई दिन काठमाडौं प्रहरीको हिरासतमा रहने भएका हुन्।
काठमाडौं जिल्ला अदालतका न्यायाधीश माधवप्रसाद अधिकारीले मंगलबार लामिछानेलाई प्रहरीको जिम्मा लगाइसकेको छ।
आज सरकारी वकिलले बहस गरेपछि जाहेरवाला सहकारी पीडितका तर्फबाट अधिवक्ता दिनेश त्रिपाठीसहित दुई वकिलले बहस गरेका थिए।
स्वर्णलक्ष्मी सहकारी ठगी मुद्दामा झन्डै एक दर्जन सरकारी वकिलले बहस गरे। बहसकका क्रममा उनीहरुले पोखराको सूर्यदर्शन सहकारी र काठमाडौंको स्वर्णलक्ष्मी सहकारी ठगीको प्रकृति फरक भएका कारण लामिछानेलाई थुनामा पठाएर मुद्दाको पुर्पक्ष गर्न गर्नुपर्ने बताएका थिए।
जाहेरवाला पीडित पक्षबाट बहस गर्ने वकिलहरूले पनि लामिछानेलाई थुनामै पठाएर मुद्दाको पुर्पक्ष गर्नुपर्ने दलील पेस गरेका थिए। उनीहरूले यसमा केही आधार समेत प्रस्तुत गरेका थिए।
लामिछानेविरूद्ध तीन वर्षभन्दा बढी कैद सजाय हुने कसुरमा मुद्दा चलिरहेको र तीन वर्षभन्दा बढी सजाय हुने कसुरमा पुर्पक्षका लागि कारागार चलान गर्ने व्यवस्था ऐनले गरेको बताएका थिए। त्यस्तै लामिछाने बाहिर बसे प्रमाणलाई प्रभावित पार्न सक्ने खतरा रहेको पनि जाहेरवालातर्फका वकिलहरूको तर्क थियो।
प्रतिवादी लामिछानेका तर्फबाट बहस गर्न पुगेका वरिष्ठ अधिवक्ता रमण श्रेष्ठ र सुशील पन्तको पालो आज पनि आएन। आजका लागि बहस सकिएपछि उनीहरूले लामिछानेलाई प्रहरीको नभई परिवारको जिम्मा लगाउन आग्रह गरेका थिए।
यद्यपि न्यायाधीश अधिकारीले लामिछानेलाई आज पनि हिरासतमै पठाउन भनेका थिए।
त्यसो त आइतबार पनि लामिछाने पक्षका वकिलहरूले उनलाई परिवार तथा पार्टीको जिम्मामा छाड्न, हिरासत नपठाउन आग्रह गरेका थिए। उनीहरुले लामिछानेलाई कास्की जिल्ला प्रहरीले परिवारको जिम्मा लगाएको काठमाडौं जिल्ला अदालतमा पनि आफै उपस्थित भएको आधार प्रस्तुत गर्दै परिवारकै जिम्मा लगाउनुपर्ने बताएका थिए।
यद्यपि न्यायाधीश अधिकारीले मुद्दामा बयान र थुनछेक बहस नसकिँदा हेर्दा हेर्दैमा पर्ने र हेर्दाहेर्दैका मुद्दाका प्रतिवादीलाई परिवारको जिम्मा लगाउने नजिर नरहेको बताउँदै लामिछानेलाई काठमाडौं प्रहरीको जिम्मा लगाएको थियो।
स्वर्णलक्ष्मी सहकारीका अन्य प्रतिवादीहरूलाई पनि हिरासतमै राखेर थुनछेक बहस गरिएको आधार प्रस्तुत गरेका थिए।
लामिछानेले पनि सुरूमा आफूलाई परिवारको जिम्मा लगाउन अनुनय गरेका थिए। तर न्यायाधीश अधिकारीले त्यसविपरीत प्रहरीको जिम्मा लगाउने भनेपछि उनले अदालतको आदेश सहर्ष स्वीकार गर्ने बताएका थिए।
योसँगै लामिछानेको हिरासत बसाईं लम्बिने भएको छ। अब उनी कम्तिमा मंगलबारसम्म प्रहरी हिरासतमा रहने भएका छन्। मंगलबार माघे सक्रान्तिको बिदा भएका कारण बुधबारका लागि थुनछेक बहस तोकिएको छ।
बुधबार प्रतिवादी पक्षका वकिलले बहस गरेपछि पुनः सरकारी वकिलले जवाफी बहस गर्नेछन्। त्यसपछि न्यायाधीशले दुवैतर्फको बहस अध्ययन गरी लामिछानेलाई कारागार पठाएर मुद्दाको पुर्पक्ष गर्ने की धरौटीमा छाड्ने भन्ने आदेश गर्नेछन्। त्यसदिन बहस नसकिए लामिछानेको हिरासत बसाईं अझै लम्बिने छ।
यसअघि पोखराको सूर्यदर्शन सहकारी ठगी, संगठित अपराध र सम्पत्ति शुद्धिकरण मुद्दा कास्की अदालते बिहीबार लामिछानेलाई ६५ लाख धरौटीमा छाडेको थियो। त्यसपछि उनी ८४ दिनपछि हिरासतमुक्त भएका थिए।
काठमाडौंको स्वर्णलक्ष्मी सहकारी ठगी प्रकरणमा पनि अदालतले यसअघि दुई प्रतिवादीलाई धरौटीमा छाडेको थियो।











