हस्तकला क्षेत्र सरकारको सधैं प्राथमिकतामा रहन्छ : प्रधानमन्त्री
प्रधानमन्त्री ओलीले कला र संस्कृतिमा नेपाल धनी भएको सन्दर्भमा हस्तकला क्षेत्र कहिल्यै विस्थापित नहुने बताउँदै बजारका सामान भन्दा आफैंले मेहनत गरेर फलाएका खाना र बनाएका सामान प्रयोग वृद्धिका लागि आग्रह गरे।-(17)-1736503314.jpg)
काठमाडौं, पुस २६ : प्रधानमन्त्री केपी ओलीले रोजगारी र निर्यातवृद्धिमा योगदान दिने हस्तकला क्षेत्र सरकारको सधैं प्राथमिकतामा रहने बताएका छन्।
नेपाल हस्तकला महासंघको ४४औं वार्षिक साधारणसभाको उद्घाटन समारोहलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले मुलुकमा रोजगारी, उत्पादन, उद्यमशीलता, आत्मविश्वास र निर्यात बढाउने क्षेत्र भएकाले यसका लागि सरकारले गर्नुपर्ने काममा लागि आफूहरुले सक्दो पहल गर्ने विश्वास दिलाएका हुन्।
प्रधानमन्त्री ओलीले कला र संस्कृतिमा नेपाल धनी भएको सन्दर्भमा हस्तकला क्षेत्र कहिल्यै विस्थापित नहुने बताउँदै बजारका सामान भन्दा आफैंले मेहनत गरेर फलाएका खाना र बनाएका सामान प्रयोग वृद्धिका लागि आग्रह गरे।
‘हाम्रो देश कलाका लागि प्रसिद्ध देश हो। यहाँका विशेषता र कला अमूल्य छ। यिनमा हाम्रा दृष्टिकोण र कला सजिएका हुन्छन्,’ प्रधानमन्त्री ओलीले भने, ‘हस्तकलाले महिलाको रोजगारी र सीप विकासका साथै सामाजिक उत्थानमा पनि मद्धत गरेको छ । यस क्षेत्रबाट उत्पादित सामान निर्यातका लागि लागौँ, म यसका विभिन्न विधाको विकासका लागि के–के गर्नुपर्छ भन्नेबारे महासङ्घलाई बोलाएर छलफल गर्छु। त्यसका आधारमा हामी थप काम गर्नेछौँ।’
कार्यक्रममा हस्तकला महासंघका अध्यक्ष प्रचण्ड शाक्यले सरकारले सार्वजनिक निकायहरुमा स्वदेशी वस्तुको प्रयोग अनिवार्य गर्ने सम्बन्धी निर्देशिका जारी गरेकामा स्वागत गर्दै यसको प्रभावकारी कार्यान्वयमा जोड दिए।
उनले निर्यात वृद्धि र सहजीकरणका लागि विभिन्न बुँदमा प्रधानमन्त्री ओलीको ध्यानाकर्षण गराए।
हस्तकला क्षेत्रले प्रत्यक्ष र अप्रत्यक्षरुपमा ११ लाख रोजगारी सृजना गरेको छ भने यसले करिब रु ११ अरब मूल्यको निकासी र सोही रकम बराबरको आन्तरिक कारोबार गरेको जनाइएको छ।











