टिकापुर जग्गा प्रकरणमा ८७ जना दोषी ठहर
विशेषका अध्यक्ष न्यायाधीश टेकनारायण कुँवर तथा न्यायाधीशद्वय तेजनारायणसिंह राई र रितेन्द्र थापाको इजलासले टिकापुरस्थित सार्वजनिक जग्गा व्यक्तिको नाममा दर्ता गरेको घटनामा ८७लाई दोषी ठहर गरेको हो।
काठमाडौं, पुस २६ : कैलालीको टीकापुरस्थित सरकारी जग्गा हिनामिनामा विशेष अदालतले ८७ जनालाई दोषी ठहर गरेको छ।
विशेषका अध्यक्ष न्यायाधीश टेकनारायण कुँवर तथा न्यायाधीशद्वय तेजनारायणसिंह राई र रितेन्द्र थापाको इजलासले टिकापुरस्थित सार्वजनिक जग्गा व्यक्तिको नाममा दर्ता गरेको घटनामा ८७लाई दोषी ठहर गरेको हो।
इजलासले दोषी देखिएका व्यक्तिबाट जनही १३ लाख ७ हजार ३ सय रुपैयाँ जरिवाना असुल्न पनि आदेश दिएको छ।
विशेष अदालतले टिकापुर विकास समितिका अध्यक्ष नेत्रप्रसाद जोशीलाई नक्कली कागजात बनाई भ्रष्टाचार गरेबापत १८ महिना कैद तोकेको छ । यस्तै, जोशी नेतृत्वको समितिअन्तर्गत गठित उपसमितिका संयोजक गणेशसिंह रावललाई पनि डेढ वर्ष कैद हुने फैसला छ। बाँकी ८५ जनालाई जनही ३ महिना कैद तोकिएको छ।
टिकापुर नगर विकास समितिका तत्कालीन अध्यक्षलगायतका पदाधिकारी तथा पार्टी प्रतिनिधिको मिलेमतोमा नक्कली कागजात खडा गरी समितिको जग्गा घडेरीका रूपमा आफन्तलगायतका नाममा हक हस्तान्तरण गरेको पाइएपछि अख्तियार दुरुपयोग अनुसन्धान आयोगले गत वर्ष माघमा विशेषमा मुद्दा दायर गरेको थियो।
इजलासले किर्ते कागजातका आधारमा हक हस्तान्तरण गरिएको झन्डै ७ बिघा जमिन फिर्ता हुने पनि फैसला गरेको छ।
ललित ताम्राकार, धिजराज रेग्मी, प्रेमसिंह विक, भरत स्वार, वेदराज जोशी ढुंगाना, दयाराम संज्याल, पूर्णबहादुर बोगटी, अमरबहादुर कडायत, मदन कुँवर, ताराप्रसाद सञ्ज्याल, निमित्त योजना प्रमुख झपरबहादुर विक, नापी अधिकृत गणेबहादुर बम, खरिदार धनिराम भण्डारी, सबइन्जिनियर नेतबहादुर रावल र फिल्ड सुपरभाइजर देवीलाल घिमिरेले सफाइ पाएका छन्।












