छविलाल जोशीलाई धरौटीमा छाड्न अदालतले दिएको आदेशमा के छ?
यस्तो छ छबिलाल जोशीलाई धरौटीमा छाड्न अदालतले दिएको आदेश
काठमाडौं, पुस २५ : पोखराको सूर्यदर्शन सहकारीको बचत अपचलन मुद्दामा पूर्वडीआइजी छविलाल जोशीलाई धरौटीमा छाड्न आदेश भएको छ।
बिहीबार कास्की जिल्ला अदालतका न्यायाधीश नितिज राईले जोशीलाई ८८ लाख धरौटीमा छाड्न आदेश दिएको हो।
उनीविरूद्ध सहकारी ठगीसँगै संगठित अपराध र सम्पत्ति शुद्धीकरणको कसुरमा पनि मुद्दा दर्ता भएको थियो। जोशीको पक्षबाट वरिष्ठ अधिवक्ता शम्भु थापाले बहस गरेका थिए।
जोशीलाई धरौटीमा छाड्दा तत्काल प्राप्त आधार प्रमाणहरूवाट उनी अहिले नै कसूरदार रहेनछन् भन्न सकिने मनासिव आधार नदेखिएको आदेशमा भनिएको छ।
यस्तो छ आदेशः
अनुसन्धान अधिकारीसमक्ष भएको बयान समेतका तत्काल प्राप्त प्रमाणबाट प्रतिवादी मध्येका प्रतिवादी छविलाल जोशीको हकमा हेर्दा, निज प्रतिवादीलाई माथि प्रकरणमा उल्लिखित सहकारी ठगी, सङ्गठित अपराध र सम्पत्ति शुद्धिकरण सम्बन्धी अभियोग लागेको देखिएकोमा निज प्रतिवादीले मौकामा तथा यस इजलास समक्ष बयान गर्दा नेचर हर्बस इन्टेनेशनल लि. र गोर्खा मिडिया प्रा.लि. मा संस्थापक शेयरधनी भएपनि सो संस्थामा कहाँबाट कसरी रकम आएको थियो भन्ने विषयमा फरार प्रतिवादी तथा उक्त कम्पनीका अर्का संस्थापक शेयरधनी गितेन्द्रबाबु राईलाई नै थाहा भएको, आफूले सो विषयमा जानकारी लिने दायित्व नरहेको, आफ्नी श्रीमतीको नाममा रहेको काठमाडौँ शंखमुलको घर नेचर हर्बस इन्टेनेशनल लि. ले पहिलेदेखि नै भाडामा लिएको र उक्त कम्पनीकै प्रयोजनार्थ सो घरमा रिनोभेसनको कार्य भएको र आफूले सरकारी सेवाबाट तथा विभिन्न समयमा यु.एन मिसनमा गएको पारिश्रामिकबाट आर्जन गरेको सम्पत्तिबाट हालसम्मको सम्पत्ति आर्जन गरेको भन्ने वयान रहेको देखिएतापनि निज प्रतिवादी नेचर हर्बस इन्टेनेशनल लि. मा केही समय संस्थापक सदस्य रहेको तथा गोर्खा मिडिया प्रा. लि. मा करिब १ वर्ष संस्थापक शेयरधनी रहेकोमा विवाद देखिदैन। निजले विगत लामो समय देखि नजिकको सम्बन्ध रहेको अर्का प्रतिवादी रामबहादुर खनाललाई कर्मचारीको रुपमा देखाई पेश्की रकम लिई सो मध्ये रु. १०,००,०००।- रामबहादुर खनालले नेचर हर्वसका शेयरधनी छबिलाल जोशीको नाममा रहेको नबिल बैंकको खातामा जम्मा गरेको र सो रकम पुनः सहारा वचत तथा ऋण सहकारीमा रकमान्तर गरेको मिति २०७७।१०।०५ गते सूर्यदर्शन सहकारीवाट जि.बी. राईको नाममा रहेको स्ट्यान्डर्ड चार्टर्ड बैंकको खातामा रु. २,००,००,०००।- जम्मा भएको, सोही खाताबाट रु. १,७५,००,०००।- छविलाल जोशीको नबिल बैंकको खातामा जम्मा भएको र सोही खाताबाट उक्त रकम गोरखा मिडियाको ग्लोवल आईएमईको खातामा जम्मा गरेको सूर्यदर्शन वचत तथा ऋण सहकारी संस्थाको गोर्खा फाईनान्स लिमिटेडको खाताबाट मिति २०७७।०३।०२ मा १० लाख रुपैयाँ समेतका चेकबाट निज प्रतिवादीको खातामा रकम आएको देखिएको हुँदा सहकारीको रकम निज प्रतिवादीको कार्य मार्फत हस्तान्तरण भएको देखिनुका साथै निजको अन्य प्रतिवादीहरुसँग देखिएको अन्तरसम्बन्ध र बैङ्क खाताको ट्रान्जेक्सन समेतका समेतका मिसिल संलग्न तत्काल प्राप्त आधार प्रमाणहरुवाट निज प्रतिवादी अहिले नै कसूरदार रहेनछन् भन्न सकिने मनासिव आधार नदेखिएको र तत्काल प्राप्त माथि उल्लेखित प्रमाणहरुबाट प्रतिवादीलाई पछि थप प्रमाण वुझ्दै जाँदा ठहरेबमोजिम हुने नै हुँदा निज प्रतिवादी छविलाल जोशीबाट मुलुकी फौजदारी कार्यविधि संहिता, २०७४ को दफा ६८ र ७२ समेतको आधारमा धरौटी रु. ८८,००,०००।- (अठासी लाख रुपैंया नगदै वा सो बराबरको जेथा वा बैंक जमानत दिए लिई तारेखमा राख्नु र नदिए वा दिन नसकेमा दफा ८० वमोजिमको थुनुवा पुर्जि दिई थुनामा राख्न कारागार कार्यालय कास्कीमा पठाइदिनू












-ink-1744291933.jpeg)