१० लाख धरौटी तिरेर छुटिन् आजै अदालत हाजिर भएकी लेखा समिति सभापतिकी श्रीमती अञ्जला
बुधबार मोरङ अदालतका न्यायाधीश उद्ववप्रसाद भट्टराईको इजलासले अञ्जलालाई १० लाख धरौटीमा छाड्न आदेश दिएको हो।विराटनगर, पुस २४ : सहकारी ठगी प्रकरणमा मुद्दा चलाइएकी सार्वजनिक लेखा समिति सभापति ऋषिकेश पोखरेलकी श्रीमती धरौटीमा छुटेकी छन्।
मोरङको धनपालथानस्थित उमागौरी सहकारीको बचत अपचलन प्रकरणमा पोखरेलकी श्रीमती अञ्जला कोइरालासहित २६ जनालाई प्रतिवादी बनाएर जिल्ला सरकारी वकिल कार्यालय मोरङले अदालतमा मुद्दा दायर गरेको थियो।
बुधबार मोरङ अदालतका न्यायाधीश उद्ववप्रसाद भट्टराईको इजलासले अञ्जलालाई १० लाख धरौटीमा छाड्न आदेश दिएको हो।
आदेशसँगै धरौटी रकम बुझाएर उनी छुटिसकेकी छन्।
सहकारीको २२ करोड ४८ लाख २७ हजार ७०० रूपैयाँ बचत हिनामिना प्रकरणमा कोइरालासहित २६ जनालाई प्रतिवादी बनाएर मंसिर २७ गते अदालतले मुद्दा दायर गरेको थियो।
कोइराला विराटनगरस्थित महेन्द्र विराट रात्री विद्यालयकी शिक्षक पनि हुन्। पक्राउ पुर्जी जारी भएपछि उनी विद्यालयमा बिदा लिएर फरार भएकी थिइन्।
बुधबार उनी आफै अदालतमा हाजिर भएकी थिइन्। अदालतमा हाजिर भएपछि थुनछेक बहस हुँदा उनलाई धरौटीमा रिहा गर्न आदेश भएको हो।
यसअघि अर्का प्रतिवादी सन्तलाल खवासलाई ५ लाख धरौटीमा छाड्न अदालतले आदेश दिएको थियो। खवास सहकारीका पूर्वउपाध्यक्ष हुन्।