स्वर्णलक्ष्मी सहकारी ठगी प्रकरणमा पक्राउ परेका दुईजना धरौटीमा रिहा
काठमाडौंको कालीमाटीमा रहेको उक्त सहकारीको लेखा समिति सदस्य सुनिता नेवा चार लाख र सञ्चालक समिति सदस्य कमल लामा तीन लाख रुपैयाँ धरौटीमा रिहा भएको जिल्ला प्रहरी परिसर काठमाडौंले जनाएको छ।काठमाडौं, पुस २४ : स्वर्णलक्ष्मी बहुउद्देश्यीय सहकारी संस्थाको रकम अपचलन गरेको आरोपमा पक्राउ परेका दुईजना धरौटीमा रिहा भएका छन्।
मंगलबार काठमाडौं जिल्ला अदालतका न्यायाधीश पदमराज पाण्डयेको इजलासले उनीहरूलाई धरौटीमा रिहा गर्ने आदेश दिएको हो।
काठमाडौंको कालीमाटीमा रहेको उक्त सहकारीको लेखा समिति सदस्य सुनिता नेवा चार लाख र सञ्चालक समिति सदस्य कमल लामा तीन लाख रुपैयाँ धरौटीमा रिहा भएको जिल्ला प्रहरी परिसर काठमाडौंले जनाएको छ।
आइतबार राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेसहित ३९ जनाविरुद्ध सहकारी ठगी र संगठित अपराधको कसूरमा मुद्दा दर्ता भएको छ। जिल्ला सरकारी वकिलको कार्यालय काठमाडौंले जिल्ला अदालत काठमाडौंमा मुद्दा दर्ता गरेको हो।
उनीहरूविरुद्ध सहकारी ठगी, संगठित अपराधको कसूरमा सजाय हुनुपर्ने मागका साथै सहकारीबाट अपचलन भएको रकम १ अर्ब १९ करोड ४९ लाख २१ हजार २७० रुपैयाँ बिगोदावी सहितको प्रतिवेदन बुझाएको छ।
स्वर्णलक्ष्मी सहकारीको रकम अपचलनमा संलग्न लामिछाने सहित जीबी राई, पूर्वडीआईजी छविलाल जोशी, जीबीको साढुभाई दीपक लामा, कोषाध्यक्ष कुमार रम्तेल र व्यवस्थापक नवीन अछामीसहितका ३९ जनालाई प्रतिवादी कायम गरिएको छ।
सहकारीबाट गोर्खा मिडिया नेटवर्क प्रा.लि.मा ६४ करोड ८३ लाख ३८ हजार ४ सय ६५ रुपैयाँ कारोबार भएको प्रहरीको अनुसन्धानले देखाएको छ।