अधिकारीको निधनमा नेकपाद्वारा शोक व्यक्त
काठमाडौं, फागुन १९ः पूर्वउप्रधानमन्त्री भरतमोहन अधिकारीको निधनमा नेपाल कम्युनिष्ट पार्टी (नेकपा) केन्द्रीय सचिवालय बैठकले आज देशभरका सबै पार्टी कार्या....

काठमाडौं, फागुन १९ः पूर्वउप्रधानमन्त्री भरतमोहन अधिकारीको निधनमा नेपाल कम्युनिष्ट पार्टी (नेकपा) केन्द्रीय सचिवालय बैठकले आज देशभरका सबै पार्टी कार्यालयहरूमा पार्टीको झण्डा आधा झुकाउने निर्णय गरेको छ ।
पार्टी महासचिव विष्णुप्रसाद पौडेलद्वारा जारी विज्ञप्प्तिका अनुसार, बैठकले तीन दिनसम्म देशभरिका सबै पार्टी कार्यालयमा शोक पुस्तिका राख्ने पनि निर्णय गरेको छ । अधिकारीप्रति श्रद्धाञ्जलिका लागि फागुन २३ गते भृकुटी मण्डपमा पार्टी केन्द्रको आयोजनामा श्रद्धाञ्जलि सभा गर्ने पनि निर्णय गरेको छ ।
बैठकले शोक प्रस्ताव पनि पारित गरेको छ । नेकपाद्वारा जारी शोक वक्तव्यमा भनिएको छ, ‘हाम्रो पार्टी नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का नेता तथा पूर्वउप्रधानमन्त्री कमरेड भरतमोहन अधिकारीको हिजो राती ९.३५ बजे काठमाडौँस्थित ह्याम्स अस्पतालमा ८३ वर्षको उमेरमा निधन भएको छ । पार्टी निर्माण, लोकतान्त्रिक संघर्ष र राजकीय क्षेत्रमा महत्वपूर्ण योगदान गरेका अनुभवी नेता गुमाउनुपर्दा हाम्रो पार्टी मर्माहत भएको छ ।’
पार्टीद्वारा जारी शोक वक्तव्यमा भनिएको छ, ‘विक्रम् सम्बत् १९९३ बैशाख २२ गते महोत्तरीको भवरपुरा गाउँमा आमा पूर्णकुमारी अधिकारी तथा बुबा रामचन्द्र अधिकारीबाट जन्मिनुभएका कमरेड भरतमोहन अधिकारीले आफ्ना दाजु मनमोहन अधिकारीको अगुवाइमा विराटनगर जुट मिल्स क्षेत्रमा भएका राजनीतिक क्रियाकलापलाई सानै उमेरदेखि नजिकबाट देख्न÷जान्न पाएका कारण आफूलाई राजनीतिमा संलग्न गराउनुभएको थियो ।’
१६ वर्षको उमेरमा कम्युनिस्ट पार्टीको सदस्यता लिएका उनले ०१४ मा काठमाडौँको फोहरा दरबारमा आयोजित नेपाल कम्युनिस्ट पार्टीको दोस्रो महाधिवेशनमा बनारसबाट प्रतिनिधित्व गरेका थिए । त्यस्तै, ०१९ मा आयोजित तेस्रो महाधिवेशनबाट केन्द्रीय कमिटी सदस्य चयन भएका थिए ।
वक्तव्यमा लेखिएको छ, ‘कम्युनिस्ट आन्दोलनलाई जोगाउन र अघि बढाउन सक्रियतापूर्वक लाग्नुभएका उहाँले पूर्व कोशी प्रान्तीय कमिटीको नेतृत्वमा रहेर महत्वपूर्ण भूमिका निर्वाह गर्नुका साथै २०२८ सालमा केन्द्रीय न्युक्लियस सदस्यको जिम्मेवारी सम्हाल्नु भएको थियो । २०३५ सालमा कमरेड मनमोहन अधिकारीको नेतृत्वमा स्थापित नेपाल कम्युनिस्ट पार्टीको पोलिट्ब्युरोमा रहनुभएका उहाँ २०४३ मा कमरेड साहना प्रधानले नेतृत्व गरेको नेकपा (पुष्पलाल समूह) सँग एकतापछि निर्मित नेकपा (माक्र्सवादी) को पनि पोलिट्ब्युरो सदस्य रहुनुभएको थियो । २०४६ सालको जनआन्दोलन सफल पार्न सात कम्युनिस्ट पार्टीद्वाारा गठित २१ सदस्यीय वाममोर्चाको सदस्यका रुपमा उहाँले जनआन्दोलनमा महत्वपूर्ण भूमिका निर्वाह गर्नुभएको थियो ।’











