Kathmandu Press

कोरोना कहर : एकअर्कालाई सहयोग गर्दै न्यूयोर्कका नेपालीहरू

न्यूयोर्क, वैशाख ११ : विश्वभर महामारीको रुपमा फैलिएको कोरोना भाइरसबाट अमेरिका आक्रान्त छ। सबैभन्दा बढी कोरोनाबाट न्यूयोर्क प्रभावित बनेको छ। ....

कोरोना कहर : एकअर्कालाई सहयोग गर्दै न्यूयोर्कका नेपालीहरू

न्यूयोर्क, वैशाख ११ : विश्वभर महामारीको रुपमा फैलिएको कोरोना भाइरसबाट अमेरिका आक्रान्त छ। सबैभन्दा बढी कोरोनाबाट न्यूयोर्क प्रभावित बनेको छ। 

कोभिड–१९ बाट बिहीबार बिहानसम्म विश्वभर १ लाख ८३ हजारभन्दा बढीको मृत्यु भइसकेको छ भने अमेरिकामा मात्र ४७ हजार ७ सयभन्दा बढीको मृत्यु भएको छ। अमेरिकाको न्यूयोर्क राज्यमा मात्रै १४ हजार ८ सयभन्दा बढीको मृत्यु भएको छ।

सबैभन्दा धेरै नेपाली बसोबास गर्ने न्यूयोर्कमा अहिले नेपालीहरु पनि निकै प्रभावित बनेका छन्। यहाँ अधिकांश नेपाली बस्ने क्विन्स काउन्टी र एल्महष्र्ट अस्पताल र आसपासको क्षेत्रलाई त कोरोना भाइरसको केन्द्रविन्दु नै मानिएको छ। यहाँ हरेक दिन कोरोनाका संक्रमितहरुको चापले अस्पतालका  बेडहरु खचाखच भरिएका छन्। डाक्टर र नर्सहरु बिरामीको उपचारमा यताउति कुदिरहेको देख्न सकिन्छ भने केही बिरामीहरु हस्पिटलको बेड नपाएर घर फर्किएका घटनाहरु पनि बाहिर आएका छन्।

नेपाली जनसम्पर्क समिति तथा कोरोना सचेतना अभियान टास्क फोर्सका संयोजक आनन्द विष्टका अनुसार, अहिलेसम्म न्यूयोर्क राज्यमा मात्रै कोरोना भाइरसबाट संक्रमित भएको नेपालीको संख्या करिब ५०० देखि ६०० जना रहेको अनुमान गरिएको छ भने केही बिरामीहरु निको भएर घर फर्किसकेका छन्। उनका अनुसार आजसम्म न्यूयोर्कमा १० जना नेपालीको मृत्यु भएको छ। 

तर, पछिल्लो हप्ताको तुलनामा यस हप्ता भने संक्रमण हुने तथा मृत्यु हुनेको संख्यामा कमी आएको छ।  धेरैजसो नेपालीहरु घरभित्र नै बसेर सुरक्षित रहेका छन् भने केही नेपालीहरु नेपाल जनसम्पर्क समितिको अगुवाइमा न्यूयोर्कमा रहेका अन्य स–साना गैरसरकारी संस्थाहरुसँग मिलेर समस्यामा परेका नेपालीलाई सहयोग गर्न लागि परेका छन्।

यिनीहरुले एउटा टास्कफोर्स  ‘कोविड–१९ सपोर्ट टिम’  गठन गरेर न्यूयोर्कको सिटी अफिससँग सहकार्य गर्दै न्यूयोर्कको १४ वटा स्टेशनबाट ६०० जति कोविड–१९ का बिरामीको घरदैलो पुगेरै सहयोग गर्दै आएका छन्। ज्वरो आउँदा प्रयोग गर्ने औषधि टाइलानोल, मास्क,  ह्यान्ड स्यानिटाइजर, पन्जा, थर्मोमिटर तथा आवश्यक खाद्य सामग्रीहरु वितरण गरिएको छ।

त्यसैगरी, गैरआवासीय नेपाली संघ (एनआरएन) न्यूयोर्क च्याप्टरका महासचिव रामहरि अधिकारीको नेतृत्वमा पनि न्यूयोर्कका ३०० जति कोविड–१९ का बिरामीलाई घरमै पुगेर राहत वितरण गरिएको छ।

एनआरएन अमेरिकाका पूर्वअध्यक्ष तथा एनआरएन हेल्थ टिम, कोविड–१९ च्याप्टरका अध्यक्ष डा. केशब पौडेलको संयोजकत्वमा कोविडका बिरामीहरुलाई निःशुल्क सल्लाह सुझाव र परामर्श दिने तथा अक्सिजन मोनिटरिङ्ग गर्ने काम भइरहेको छ। १० जना चिकित्सकहरु मिलेर बनेको हेल्प डेस्क टिमबाट दिनमा २० देखि ३० जनासम्म कोविड–१९ का बिरामीहरुलाई निःशुल्क टेलिफोन सुविधा उपलब्ध गराइएको छ।

त्यसैगरी, न्यूयोर्कको गैरसरकारी संस्था अधिकारको तर्फबाट पनि न्यूयोर्क स्टेट हेल्थ एन्ड हस्पिटलको सहकार्यमा निकै सह्रानीय कार्यहरु भएको कुरा अधिकारकी सञ्चालिका नर्मदा क्षेत्रीले बताइन्।  नेपाली कोविड–१९ का बिरामीहरुलाई पनि अमेरिकी नागरिक सरह न्यूयोर्क राज्यका विभिन्न ठाउँमा व्यवस्था गरिएका होटलमा र निःशुल्क आइसोलेशन रूममा बस्न पाउने व्यवस्था  मिलाउने, बिरामीहरुलाई परेको बेला खाद्यसामग्री घरमै पुर्‍याउन सहकार्य गर्ने तथा अन्य कार्यहरुमा पनि सहयोग र परामर्श पु¥याउँदै आएको उनले जानकारी दिइन्।

बिरामीको मृत्यु भइसकेपछिको समस्या जस्तै बिरामीको सनाखत गर्ने, शब क्लेमको कानूनी प्रक्रिया गर्ने तथा दाहसंस्कार गर्ने काम मिलाउने कार्यमा निकै समस्या आएको, साथै एक जनाको अन्तिम संस्कारको लागि नजिकको आफन्तको पहिचान नभएको कारणले केही ढिलाइ हुने गरेको मेरिल्यान्ड राज्यका सांसद ह्यारी भण्डारीले बताए। 

अमेरिकाका लागि नेपाली राजदूत अर्जुन कार्की अमेरिकी सरकारले नेपालीहरुलाई अमेरिकी नागरिक सहर नै उपचार गरिराखेको बताए। कोरोना संक्रमित नेपालीलाई समान व्यवहार गर्न आग्रह गर्दै अमेरिकी सरकारलाई कूटनीतिक पत्र बुझाएको र बिरामीहरुलाई सक्दो सहयोगको वातावरण मिलाएको उनले जानकारी दिए।

कन्सुलेट जेनरल पुष्पराज भट्टराईका अनुसार ९० प्रतिशत नेपालीहरु निको भएर घर फर्किसकेका छन्। नेपाल दूतावासले वेबसाइटमार्फत फर्म भरेर बिरामीको डाटा कलेक्ट गर्न खोजेको तर, सय जनाभन्दा बढीले फर्म भरेको नपाइएको र डाटा कलेक्ट गर्न नसकिएको उनले बताए।
 
सबैभन्दा बढी पीडित विद्यार्थी र अन्डकुमेन्टेड नेपालीहरु छन्। अमेरिकी सरकारले डकुमेन्ट भएर स्टेट ट्याक्स फाइल गरिरहेका सबैलाई १२०० डलरको राहत चेक तथा अन्डकुमेन्टेड नेपालीहरुलाई पनि ४०० डलर दिन लागेको जानकारी दिइएको छ। कतिपयले यो रकम पाइसकेका छन्।

त्यसैगरी, विद्यार्थीहरुलाई राहत उपलब्ध गराउन कलेजसँग समन्वय गरी सहयोगको वातावरण बनाउनेबारे छलफल भएको नेपाली कम्युनिटीका सल्लाहकार डा. तारा निरौला बताउँछन्। 

प्रकाशित मिति: १५:५३ बजे, बिहीबार, वैशाख ११, २०७७
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्