दक्षिण कोरियाका पूर्वराष्ट्रपति युनविरुद्ध पक्राउ पुर्जी जारी
अनुसन्धानका क्रममा दुई सातामा पूर्वराष्ट्रपतिलाई सोधपुछका लागि तीनवटा समन पठाए पनि युनले बेवास्ता गरेको समाचारमा उल्लेख छ। त्यसपछि उनीविरुद्ध वारेन्ट जारी भएको हो।काठमाडौं, पुस १६ : दक्षिण कोरियाको राजधानी सियोलको एक अदालतले पूर्वराष्ट्रपति युन सुक योलविरुद्ध पक्राउ पुर्जी जारी गरेको छ।
बीबीसीका अनुसार युनले देशमा लगाएको मार्सल लका कारण यो वारेन्ट जारी गरिएको हो। पूर्वराष्ट्रपति युनले डिसेम्बर ३ मा देशमा मार्सल ल लगाएका थिए।
चर्को विरोधपछि उनले ६ घण्टाभित्र आफ्नो निर्णय फिर्ता लिनुपरेको थियो। यसपछि युनविरुद्ध महाभियोग प्रस्ताव ल्याएर राष्ट्रपति पदबाट हटाइयो । मार्सल ल लागू गर्ने युनको निर्णयविरुद्ध हाल अनुसन्धान भइरहेको छ। उनलाई विद्रोह र देशद्रोहको आरोप लगाइएको छ।
अनुसन्धानका क्रममा दुई सातामा पूर्वराष्ट्रपतिलाई सोधपुछका लागि तीनवटा समन पठाए पनि युनले बेवास्ता गरेको समाचारमा उल्लेख छ। त्यसपछि उनीविरुद्ध वारेन्ट जारी भएको हो।
अदालतले अनुसन्धानकर्ताहरूलाई युनसँग सोधपुछ गर्न र उनलाई हिरासतमा लिन ४८ घण्टाको समय दिएको छ । युनका वकिलले यो कदमलाई ‘अवैध’ भनेका छन् । युन र उनका उत्तराधिकारी दुवैलाई महाभियोगमार्फत हटाइएको छ।