मेयर बालेनले गरे प्रमुख प्रशासकीय अधिकृत गुरागाईंलाई निलम्बन
काठमाडौं टावरको १९ तले नक्सापास गरेको विषयमा छानबिन गर्न बालेनकै नेतृत्वमा समिति बनाउने तयारी
काठमाडौं, पुस ७ : काठमाडौं महानगरपालिकाले शुक्रबार प्रमुख प्रशासकीय अधिकृत सरोज गुरागाईंलाई निलम्बन गरेको छ।
पुरानो बसपार्कमा निर्माणाधीन काठमाडौं टावरको नक्सा नियमविपरीत पास गर्ने प्रक्रिया अगाडि बढाएको आरोपमा गुरागाईंलाई महानगरले निलम्वन गरेको हो।
उनलाई जिम्मेवारीबाट हटाइएको महानगर स्रोतले जानकारी दिएको छ।
उनीविरूद्ध छानबिन गर्न महानगरका मेयर बालेन शाहकै नेतृत्वमा टोली समेत बनाइने भएको छ।
निर्माणाधीन काठमाडौं टावरको अन्डरग्राउन्ड दुई तलासहित १२ तलाको नक्सा पास भइसकेको अवस्थामा प्रमुख प्रशासकीय अधिकृत गुरागाईंले नियमविपरीत १९ तलाको नक्सा पास गर्न अनुमति दिएको आरोप छ।
उनीविरुद्ध भ्रष्टाचारको आरोपमा अख्तियारमा समेत उजुरी दिने तयारी भएको जनाइएको छ।
काठमाडौं टावर निर्माणको ठेक्का पाएको स्वछन्द जलेश्वर बिकोई बिल्डर्सलाई महानगरले १२ तले भवन निर्माण गर्न नक्सा स्विकृत गरेको थियो।
पछि निर्माण कम्पनीले १९ तले भवनको नक्सा पासका लागि निवेदन दिएकोमा महानगरले मापदण्ड विपरीत भएकाले पास नगरेको अवस्था रहेकामा एकाएक प्रमुख प्रशासकीय अधिकृत गुरागाईंले आधिकारिक हस्ताक्षर गरेको नक्सा पास भेटिएको थियो ।
महानगरका प्रवक्ता नवीन मानन्धरले शुक्रबार पत्रकार सम्मेलन गरी यसबारेमा जानकारी दिएका थिए। साथै अनियमिततामा संलग्नलाई कारबाही गर्न समेत सिफारिस गरेका थिए।
सो अनुसार महानगरले गुरागाइँलाई निलम्बन गरेको हो।
सम्बन्धित समाचारः पुरानो बसपार्कमा निर्माणधीन काठमाडौं टावरमा अनियमितता!









![सिंगापुरबाट फर्किए देउवा [तस्बिरहरू]](https://kathmandupress.com/uploads/posts/550X700/photo-5_746953ab-1786608907.jpg)

