पुरानो बसपार्कमा निर्माणधीन काठमाडौं टावरमा अनियमितता!
महानगरकै कर्मचारीको मिलेमतोमा मापदण्डविपरीत स्विकृतीकाठमाडौं, पुस ५ : काठमाडौं महानगरपालिकाले काठमाडौंको पुरानो बसपार्कमा बनेको भ्युटावरमा अनियमितता भएको बताएको छ।
शुक्रबार पत्रकार सम्मेलन गर्दै महानगरपालिकाका प्रवक्ता नवीन मानन्धरले भ्युटावरको १९ तले भवनको नक्सा महानगरपालिकाको आधिकारिक नक्सा प्रणालीबाट स्विकृत नभएको बताएका छन्।
भवन निर्माणको नक्सा पास कागजातको अनुमति पत्रमा प्रमुख प्रशासकीय अधिकृत सरोज गुरागाइँले आधिकारिक प्रणालीबाट प्रक्रिया नै पूरा नगरी नक्सा स्विकृत गरेको पनि पनि प्रवक्ता मानन्धरले बताएका छन्।
पत्रकार सम्मेलनपछि प्रेस विज्ञप्ति जारी गर्दै मानन्धरले नियम विपरीत कार्य गर्नेलाई कानुन बमोजिम कारबाही हुने पनि बताएका छन्।
व्यापारिक भ्यु टावर निर्माणको ठेक्का जलेश्वर स्वछन्द बिकोई बिल्डर्स प्रालिले पाएको थियो। निर्माण कम्पनी र काठमाडौं महानगरबीच २०७१ फागुन २२ गते सम्झौता भएको थियो।
सोही कार्यका लागि २०७२ भदौ ६ गते प्लिन्थ लेभलसम्म नक्सा पास भएको र २०७३ साउन ३० गते बिल्डर्स र महानगरबीच निर्माणको अवधि पाँच वर्षसहित जम्मा ३० वर्षका लागि डिजाइन निर्माण सञ्चालन र हस्तान्तरणको ढाँचामा दुई पक्षीय सम्झौता भएको विज्ञप्तिमा उल्लेख छ।
सो बमोजिम बेसमेन्टको जमिन तल्लादेखि माथि १० तला गरी जम्मा १२ तलाको भवन निर्माण गर्न महानगरले स्विकृती प्रदान गरेको थियो। तर प्राविधिक जाँच पश्चात प्लिन्थ लेभलभन्दा भाथिको नक्सा पास गरिसकेपछि मात्रै माथिको निर्माण प्रक्रिया अगाडि बढाउनुपर्नेमा सो नगरी डबल बेसमेन्ट प्लिन्थ लेभलभन्दा माथि दुई तल्ला बेसमेन्ट र जमिन तल्लादेखि १० तलासम्मा जम्मा १२ तल्ला स्ट्रक्चर मात्र निर्माण भएको देखिएको वडा कार्यालयको फिल्ड इन्जिनियरिङ प्रतिवेदन पेस भएको मानन्धरले विज्ञप्तिमा उल्लेख गरेका छन्।
त्यसपछि निर्माण कम्पनीले गत वर्ष कात्तिक १ गते नक्सा पास म्याद थप तथा नक्सा संशोधन गर्न निवेदन पेस गरेको थियो। काठमाडौं भवन निर्माण मापदण्ड २०७५ को परिच्छेद-२ दफा १३ बमोजिम निर्माण सम्पन्न भएको भवनको हकमा हाल कायम रहेको दस्तुर लिई सुपर स्ट्रक्चर नक्सा पास गर्न सकिने व्यवस्था रहेको मानन्धरले बताएका छन्।
निर्माण कम्पनीले भने सुपर स्ट्रक्चर नलिई निर्माण गरेको जम्मा बेसमेन्टसहित १२ तल्लाका लागि जरिवाना लिई नक्सा पास प्रक्रिया अगाडि बढाइएकोमा विभिन्न समयमा कामपाको आधिकारिक नक्सा पास प्रणालीमार्फत नक्सा पास अगाडि बडाइएको मानन्धरले बताएका छन्।
तर निर्माण कम्पनीले १२ तलाको नक्सा पास प्रक्रिया अगाडि बढाउनुपर्नेमा १९ तलाको संशोधित नक्सा पेस गरेको उनले बताएका छन्। उक्त नक्सा ०७४ वैशाख ८ गते दुवै पक्षबीच भएको सम्झौता विपरीत भएकाले महानगरले नक्सा संशोधन प्रक्रिया नै रोकेको मानन्धरले बताएका छन्।
उक्त नक्साको फाइल महानगरमा एक कर्मचारीबाट अर्को कर्मचारीमा पटकपटक फर्वार्ड भएको देखिएको पनि उनले बताएका छ्न्।
'२०८०/११/२२ देखि प्राबिधिक कारणले रोकिएको प्रकृया विद्युतिय नक्सा पास प्रणालीमा मिति २०८१/५/३० गते प्रमुख प्रशासकीय अधिकृतले विभागीय प्रमुख हरिशचन्द्र लामिछानेलाई फर्वाड गरिएको देखिन्छ । साथै २०८१/६/१० गते हरिशचन्द्र लामिछानेले रजिस्ट्रेसन डेस्कको अनिरा तुलाधर,अनिरा तुलाधरले वार्ड ईन्जिनियर शुशिल केसीलाई , शुशिल केसीले निर्मल कुमार भट्टराईलाई र निर्मलकुमार भट्टराईले हरिशचन्द्र लामिछानेलाई फर्वाड गरेको देखिन्छ । २०८१/६/१३ मा हरिशचन्द्र लामिछानेले निर्मल कुमार भट्टराइलाई र २०८१/६/१८ मा निर्मल कुमार भट्टराईले सुधा रिजाललाई र सुधा रिजालले निर्मलकुमार भट्टराईलाई फरवार्ड गरेको देखिन्छ । मिति २०८१/६/२० मा निर्मलकुमार भट्टराईले हरिश्चन्द्र लामिछानेलाई फरवार्ड गरी आज मिति २०८१ पुस ५ गतेका दिनसम्म कामपाको आधिकारिक नक्सा पास प्रणलीमा विभागीय प्रमुखको डेक्समै रहेको देखिन्छ,' प्रवक्ता मानन्धरले भनेका छन्।
त्यसरी हालसम्म नक्सा स्विकृत नभएको मानन्धरले बताएका छन्। तर भवन निर्माणको नक्सा पास कागजागतको अनुमति पत्रमा प्रमुख प्रशासकीय अधिकृत सरोज गुरागाईले आधिकारिक प्रणालीबाट प्रक्रिया नै पूरा नगरी नक्सा स्वीकृति गरेको देखिएकाले यसमा अनियमितता भएको उनले बताए।
यस विषयमा थप छानविन गरी नियम विपरित कार्य गर्ने जो कसैलाई कानून बमोजिम कार्वाही प्रक्रियाका लागि सम्वन्धित निकायमा सिफारिस गरिएको पनि उनले बताए।