कास्की–२ मा <br>रवीन्द्र अधिकारीको राजनीतिक उत्तराधिकारी को ?
काठमाडौं, फागुन १८ : पर्यटन मन्त्री रवीन्द्र अधिकारीको हेलिकप्टर दुर्घटनामा परी निधन भएपछि रिक्त हुन पुगेको कास्की–२ निर्वाचन क्षेत्रमा उनको उत्....
काठमाडौं, फागुन १८ : पर्यटन मन्त्री रवीन्द्र अधिकारीको हेलिकप्टर दुर्घटनामा परी निधन भएपछि रिक्त हुन पुगेको कास्की–२ निर्वाचन क्षेत्रमा उनको उत्तराधिकारी को हुने भन्ने चर्चा सत्तारुढ नेकपाभित्र सुरु भएको छ ।
प्रतिनिधि सभातर्फ कास्की–२ सँगै प्रदेश सभातर्फ दाङ, भक्तपुर र बाग्लुङ गरी चार क्षेत्रमा उपचुनाव हुने भएको छ । तर, प्रदेश सभाको उपचुनाव हुने तीन जिल्लामा भन्दा पनि पनि कास्की–२ मा अधिकारीको बिडो कसले थाम्छ भन्ने चासो सर्वत्र छ ।
कतिले अघिल्लो चुनावमा पराजित भएपछि पनि संसद् छिर्न अनेक हतकण्डा अपनाएका नेकपाका प्रभावशाली नेता बामदेव गौतम कास्की–२ बाट उठ्न सक्ने अड्कलबाजी गरेका थिए । तर, गौतम आफैले शनिबार विहान सामाजिक संजाल मार्फत रवीन्द्र अधिकारीको क्षेत्रमा आफूले चुनाव नलड्ने घोषणा गरे । बरु उनले अधिकारीका परिवारलाई सुम्पिनुपर्ने प्रस्ताव अघि सारे ।
त्यसाे भए अब को होला त कास्की–२ मा रवीन्द्र अधिकारीको उत्तराधिकारी ? काठमाडौं प्रेसले नेकपाका केही नेतासँग यस विषयमा कुराकानी गर्ने प्रयास गरेको थियो । तर, अधिकारीको दाहसंस्कार गरिएको एक दिन पनि पूरा नभएकाले यस विषयमा औपचारिक प्रतिक्रिया दिन कोही तयार भएनन् । तर उनीहरूमध्ये धेरैले उनका उत्तराधिकारी परिवारबाटै आउनसक्ने संकेत गरे ।
नेकपा नेताहरूको यो संकेतले विगत तीन दशकदेखि रवीन्द्र अधिकारीले मेहेनत गरेको कास्की–२ बाट अब उनकै पत्नी विद्या भट्टराईको राजनीतिक उदय हुने सम्भावना देखिन्छ ।
विद्या भट्टराई पनि रवीन्द्र अधिकारीसँगै अखिलको राजनीतिमा संलग्न थिइन् । तर, उनले रवीन्द्रको जति राजनीतिक उचाई भेटिनन् । अनेरास्ववियुकी केन्द्रीय कोषाध्यक्षको भूमिका निभाइसके पनि उनले राजनीतिक महत्वकांक्षा राखिनन् । बरु अध्यापन पेशामा सक्रिय हुँदै श्रीमानको राजनीतिक यात्रामा पर्दा पछाडिबाटै सघाउ पुर्याइन् । उनी हाल काठमाडौंको रत्नराज्य क्याम्पसमा प्राध्यापन गर्छिन् ।
प्रधानमन्त्री केपी ओलीका परराष्ट्र सल्लाहकार राजन भट्टराईकी नाताले बैनी विद्या २०४६ को आन्दोलनकी पनि लोकप्रिय विद्यार्थी नेता हुन् । तर, अब उनले कास्की–२ बाट उपचुनाव लडेर पतिको विरासत थाम्न सक्ने विश्वास नेकपा र त्यसमा पनि पूर्व एमालेका नेता/कार्यकर्ताको छ ।
अधिकारीको हेलिकप्टर दुर्घटनामा परी निधन भएको पुष्टि भएपछि बुधबार साँझ उनको निवास पुगेका प्रधानमन्त्री केपी ओलीले विद्या भट्टराईलाई सान्त्वना दिँदै त्यस्तो संकेत गरेको पनि प्रधानमन्त्री सचिवालयका एक सदस्यले बताए ।
अधिकारीको हेलिकप्टर दुर्घटनामा परी निधन भएको पुष्टि भएपछि बुधबार साँझ उनको निवास पुगेका प्रधानमन्त्री केपी ओलीले विद्या भट्टराईलाई सान्त्वना दिँदै त्यस्तो संकेत गरेको पनि प्रधानमन्त्री सचिवालयका एक सदस्यले बताए ।
कतिपयले मन्त्री पदमै रहेका बेला दुर्घटनामा परी निधन भएका अधिकारीलाई अन्तिम संस्कारका लागि कास्की लैजानुलाई पनि विद्याको सम्भावित राजनीतिक भविष्यसँग जोडेर हेर्न थालेका छन् । कास्कीमा अधिकारीका लोकप्रियताको पछाडि उनकी श्रीमतीको पनि निकै मेहनत छ ।
गत प्रतिनिधिसभा निर्वाचनमा अधिकारीले कास्की–२ मा कांग्रेस उम्मेदबार देवराज चालिसेलाई १० हजारभन्दा बढी मतान्तरले हराएका थिए । उनी सोही क्षेत्रबाट लगातार तीन पटक प्रतिनिधिसभा सदस्यमा विजयी हुँदै आएका थिए । २०६४ सालको पहिलो संविधानसभा निर्वाचनमा एमालेका हस्तीहरूले चुनाव हार्दा पनि अधिकारीले माओवादी उम्मेदवारलाई हराएर सोही क्षेत्रबाट जित हात पारेका थिए ।
बैशाख वा जेठमा चुनावकाे तयारी
निर्वाचन आयोगले रिक्त भएका प्रतिनिधिसभा र प्रदेशसभाको उपचुनाव बैशाख वा जेठमा गर्ने तयारी गरेको छ ।
एक आयुक्तका अनुसार प्रधानमन्त्री केपी ओलीसँग परामर्श गरेर बैशाख वा जेठमा प्रतिनिधिसभातर्फ कास्की–२ र प्रदेशसभातर्फ बाग्लुङ–२ ख, भक्तपुर–१ क र दाङ–३ ख मा उपचुनाव गराउने तयारी छ ।
प्रदेशसभातर्फ बाग्लुङ–२ (ख) का टेकबहादुर घर्तीको गत मंसिर २७ गते जण्डिसको उपचारका क्रममा निधन भएको थियो । त्यस्तै दाङ–३ (ख) का सांसद उत्तरकुमार ओलीको गम्भीर सडक दुर्घटनामा परेर गत फागुन १० गते निधन भएको थियो । भक्तपुर–१ (क) का हरिशरण लामिछानको पनि ५१ बर्षको उमेरमा मस्तिष्कघातका कारण निधन भएको थियो ।
त्यस्तै स्थानीय निकायतर्फ जनप्रतिनिधिहरुको विभिन्न कारणले निधन भएर दर्जनभन्दा बढी पद रिक्त छन् । धरानका मेयर तारा सुब्बाको गत साउन १ गते निमोनियाका कारण निधन भएको थियो । त्यस्तै पाँचथरको फाल्गुनन्द गाउँपालिकाका अध्यक्ष अमरकुमार नेम्वाङको पनि माघ २६ गते निधन भएको थियो ।
गत पुस ३० गते संखुवासभाको मकालु गाउँपालिकाका अध्यक्ष खड्गबहादुर कटवालको पनि सवारी दुर्घटनामा निधन भएको थियो । निर्वाचन आयोगका अनुसार विभिन्न वडाका १३ जना अध्यक्षको पनि विभिन्न कारणले निधन भएर पद रिक्त छ ।






