पोखरामाथि काठमाडौंका फराकिलो जित, प्लेअफ पुग्न काठमाडौं केही सहज, पोखरा अप्ठ्यारोमा
पहिला ब्याटिङ गर्दै पोखराले दिएको १४० रनको लक्ष्य काठमाडौंले ३५ बल बाँकी छँदै ४ विकेटको क्षतिमा भेट्टायो। यो फराकिलो जितसँगै प्लेअफ सम्भावना केही सहज भएको छ।काठमाडाैं, मंसिर २९ : नेपाल प्रिमियर लिगमा काठमाडौं गुर्खाजले फराकिलो जित निकालेको छ। शनिबार भएको खेलमा पहिलो खेलमा काठमाडौंले पोखरालाई ६ विकेटको हरायो।
पहिला ब्याटिङ गर्दै पोखराले दिएको १४० रनको लक्ष्य काठमाडौंले ३५ बल बाँकी छँदै ४ विकेटको क्षतिमा भेट्टायो।
यो फराकिलो जितसँगै प्लेअफ सम्भावना केही सहज भएको छ। ६ खेलमा तेस्रो जित निकालेको काठमाडौं ६ अंकसहित पाँचौं स्थानमा उक्लिएको छ। अब उसले अन्तिम खेलमा विराटनगर किंग्ससँग खेल्नेछ।
आजै अन्तिम खेलमा चिवतन राइनोज जनकोपुर बोल्ट्ससँग पराजित भए काठमाडौंलाई प्लेअफ पग्ने अन्तिम खेलमा जित नै पर्याप्त हुनेछ। यदि चितवन विजयी भएमा भने काठमाडौंले अन्तिम खेलमा विराटनगरमाथि निकै ठूलो अन्तरको जित निकाल्नुपर्ने हुन्छ।
आज चितवनको हारको कामना पोखरा र विराटनगरले पनि गर्नेछन्। आज चितवन हारेमात्रै दुवैको प्लेअफ सम्भावना रहन्छ। आज चितवन हारे पनि उ प्लेअफ दौडबाट भने बाहिरिने छैन। यस्तो अवस्थामा चितवन, काठमाडौं, पोखरा र विराटनगर मध्ये १ टिम रनरेटका आधारमा प्लेअफमा पुग्ने छन्।
काठमाडौंले सहज जित दिलाउन स्टेफन स्किनाजीले अर्धशकीय इनिङ खेले। उनले ३४ बलमा १० चौका प्रहार गर्दै ६० रन बनाए। यो काठमाडौंले प्रतियोगितामा बनाएको पहिलो अर्धशतक हो।
यस्तै, माइकल लेविटले १८ बलमा ३२ रन बनाउँदा जेरार्ड इरास्मसले १० बलमा २५ र भीम सार्कीले २२ रन बनाए।
बलिङमा पोखराका विपिन खत्रीले ३ तथा माइकल लेस्कले १ विकेट लिए।
त्यसअघि पहिला ब्याटिङ गरेको पोखराले ८ विकेटको क्षतिमा १३८ रन बनायो।
उसका लागि रेमोन रेइफरले पुनः एक पटक उत्कृष्ट इनिङ खेले। अघिल्लो खेलमा बल र ब्याट दुवैबाट उत्कृष्ट प्रदर्शन गरेका रेइफरले काठमाडौंविरुद्ध पनि ३० बलमा ३ छक्का र १ चौका प्रहार गर्दै सर्वाधिक ४१ रन बनाए।
यस्तै, दिनेश खरेलले २५ बलमा ६ चौका र १ छक्का प्रहार गर्दै ३८ रन बनाउँदा दिलिप नाथले २४ बलमा २७ रन बनाए। यही खेलमा डेब्यू गरेका भारतीय खेलाडी आकर्षित गोलेमले ८ रन मात्र बनाउन सके।
बलिङमा काठमाडौंका करण केसी र रसिद खानले समान ३ विकेट लिँदा माइकल लेविट र जेरार्ड इरास्मसले समान १ विकेट लिए।