लुम्बिनीलाई हराएसँगै कर्णाली प्लेअफ नजिक
शुक्रबार भएको लो स्कोरिङ म्याचमा कर्णालीले लुम्बिनीमाथि ५ रनको जित निकाल्यो।काठमाडाैं, मंसिर २८ : शुक्रबार कीर्तिपुरस्थित टियू मैदानमा भएको खेलमा लुम्बिनी लयान्सलाई हराउँदै कर्णाली याक्स नेपाल प्रियिमर लिगको प्लेअफ नजिक पुगेको छ। शुक्रबार भएको लो स्कोरिङ म्याचमा कर्णालीले लुम्बिनीमाथि ५ रनको जित निकाल्यो।
यो जितसँगै कर्णाली ६ खेलमा चौथो जित निकाल्दै दोस्रो स्थानमा उक्लिएको छ। र, ऊ प्लेअफ नजिक पुगेको छ। सुरुआगी २ खेल हारेको कर्णालीले त्यसपछि लगातार ४ खेल जितेको छ।
यता, लुम्बिनी लायन्स भने लिगको पुछारमा छ। उसले ७ खेलमध्ये १ खेल मात्र जितेको छ।
पहिला ब्याटिङ गर्दै कर्णालीले दिएको १२९ रनको सामान्य लक्ष्य पछ्याएको लुम्बिनीले ७ विकेटको क्षतिमा १२३ रन मात्र बनाउन सक्यो। उसका लागि टम मोरेसले सर्वाधिक ३६ रन बनाउँदा सन्दीप जोराले २४, साद विन जाफर र आशुतोष घिरैयाले समान १६ रन बनाए।
बलिङमा कर्णालीका जिसन मक्सुदले २ विकेट लिए भने सोमपाल कामी, नन्दन यादव, विपिन शर्मा र विलियम बसिस्टोले समान १ विकेट लिए।
त्यसअघि पहिला ब्याटिङ गरेको कर्णालीले ८ विकेटको क्षतिमा १२८ रन बनाएको थियो। उसका लागि बसिस्टोले ३० बलमा समान ३ चौका र छक्का मद्दतमा ४४ रन बनाए। यस्तै, अर्जुन घर्ती २५ र बाबर हायतले २० रन बनाए।
बलिङमा लुम्बिनीका विकास अग्रीले ३ विकेट लिए भने तिलक भण्डारीले २ विकेट लिए।