यस्ता छन् एमाले सचिवालय बैठकले गरेका निर्णयहरु
नेकपा (एमाले)को सचिवालय बैठकले विभिन्न निर्णय गरेको छ।काठमाडौं, मंसिर २५ । नेकपा (एमाले)को सचिवालय बैठकले विभिन्न निर्णय गरेको छ।
शनिबार पार्टी केन्द्रीय कार्यालय च्यासलमा बसेको बैठकले प्रधानमन्त्री केपी शर्मा ओलीको चीन भ्रमण, त्यसमा भएका सहमति र स्थानीय तह उपनिर्वाचन परिणामबारे छलफल गरेको थियो।
बैठकले प्रधानमन्त्री केपी शर्मा ओलीको चीन भ्रमण सफल भएको निष्कर्ष निकालेको छ।
बैठकले दुवै देशले भएका सहमतिहरूको दृढतापूर्वक र यथाशीघ्र कार्यान्वयन गर्न निर्णय पनि गरेको छ।
बैठकले स्थानीय तह उपनिर्वाचनको परिणामलाई गम्भीर रूपमा लिएको पनि बताइएको छ।
केही स्थानहरूमा सोचेको जस्तो परिणाम नआएको र जितेका स्थानहरूमा पनि सन्तोषजनक नतिजा नआएको एमालेको निष्कर्ष छ।
यसले जनमत परिवर्तन भएको र सामाजिक सञ्जालहरूको दुरूपयोगबाट गलत सूचना प्रवाह भएको र त्यसले दलका नेताहरू, सरकार र प्रधानमन्त्रीकै चरित्र हत्या गर्ने, भ्रम फैलाउने र जनतामा निराशा सिर्जना गर्ने काम भइरहेको निष्कर्ष निकाल्दै त्यसको राजनीतिक प्रतिवाद गर्ने निर्णय पनि एमालेले गरेको छ।