किशोरी नमानेपछि बलात्कार प्रयास, प्रतिकार गरेपछि हत्या
१० दिनपछि अभियुक्त सार्वजनिककाठमाडौं, मंसिर २५ । गोरखाको सुलिकोट गाउँपालिका-१ बारपाककी १८ वर्षीया किशोरी सूचिना घलेको हत्या आरोपमा एक पुरूष पक्राउ परेका छन्।
पक्राउ पर्नेमा बारपाक सुलिकोट गाउँपालिका-१ कै ४२ वर्षीय मन शमशेर गुरूङ छन्।
सूचिनाको शव गाडिएको अवस्थामा जंगलमा फेला परेको थियो। गत मंसिर १५ गते जंगलमा घाँस काट्न गएकी उनी तीन दिनपछि मंसिर १८ गते जंगलमा खाल्डो खनेर गाडिएको अवस्थामा भेटिएको थियो।
हत्या भएको दस दिनपछि मंगलबार प्रहरीले अभियुक्त सार्वजनिक गरेको हो।
जिल्ला प्रहरी कार्यालय गोरखाका अनुसार घाँस काट्न सुचिना घरबाट निस्किएपछि गुरूङपनि उनको पछि पछि जंगल पुगेका थिए।
प्रहरीको प्रारम्भिक अनुसन्धानअनुसार घाँस काट्ने क्रममा जंगलमा उनीहरु एकैठाउँ पुगेका थिए। त्यसपछि गुरूङले सम्बन्धका लागि अनुरोध गर्छन्। किशोरीले नमानेपछि उनले जबरजस्ती प्रयास गरेका थिए।
यद्यपि किशोरीले प्रतिरक्षामा घाँस काट्न लगेको हतियार प्रहार गरेकी थिइन्। ती पुरूषको हातमा चोट देखिएको पनि प्रहरीले जनाएको छ।
प्रहरीसँगको बयानमा गुरूङले आफूले पटकपटक प्रयास गर्दा सूचना चिच्याएपछि फस्ने डरले लडाएर घाँस र गोबर मिसिएको माटो मुखमा कोचिदिएको बताएका छन्।
त्यसपछि शव गाडेर उनी फर्किएका थिए। जंगलमा घाँसका मुठा फेला परेको ठाउँनजिक किशोरीको शव माटोमुनि गाडेको अवस्थामा फेला परेको थियो।
प्रहरीले शव निकालेर पोस्टमर्टम गरेको थियो। पोस्टमर्टम रिपोर्ट पनि आइसकेको छ। पोस्टमर्टम रिपोर्टले उनीमाथि बलात्कार नभएको तर बलात्कार प्रयास भएको देखाएको छ।
घटनास्थलमा भेटिएको डोको र टोपीबाट प्रहरीले घटनाको अनुसन्धान गरेको थियो।