माओवादी सक्कियो भन्नेहरुलाई उपनिर्वाचन गतिलो पाठ बनेको छः प्रचण्ड
पूर्वप्रधानमन्त्री एवं नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले राष्ट्रिय एकता सुदृढ बनाउनुपर्नेमा जोड दिएका छन्।चितवन, मंसिर २५ । पूर्वप्रधानमन्त्री एवं नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले राष्ट्रिय एकता सुदृढ बनाउनुपर्नेमा जोड दिएका छन्।
नेकपा (माओवादी केन्द्र) भरतपुर महानगर कमिटीद्वारा आज यहाँ आयोजित खबरदारी सभामा उहाँले देशको राजनीति सोचेजस्तो सहज नभएको बताए।
विश्वराजनीति परिस्थिति अनुसार नेपालको राजनीति परिस्थिति सहज हुन नसकेको पनि अध्यक्ष प्रचण्डले बताए।
'अहिले विश्व परिस्थिति जसरी अगाडि बढ्दै छ । हाम्रो राष्ट्रिय एकता र स्वाधीनताको सुदृढीकरणमा नयाँ चुनौती देखापरेका छन् । हामी सबै सतर्क रहेर राष्ट्रिय एकतालाई सुदृढ गर्दै अघि बढ्नुपर्छ,' उनले भने।
फरक प्रसङ्गमा अध्यक्ष दाहालले स्थानीय तहको उपनिर्वाचनले माओवादी केन्द्रलाई पहिलो शक्ति बनाएको बताए।
'स्थानीय तहमा भएको उपनिर्वाचनले २०८४ सालमा हुने निर्वाचनको झल्को दिएको छ । माओवादी सक्कियो भन्नेहरुलाई उपनिर्वाचन गतिलो पाठ बनेको छ,' उनले भने।












