अवहेलना मुद्दामा रास्वपाका नेता र सांसदसँग सर्वोच्चले माग्यो जवाफ
अदालतको अवहेलनासम्वन्धी मुद्दामा सर्वोच्च अदालतले राष्ट्रिय स्वतन्त्र पार्टीका केन्द्रीय पदाधिकारी एवं सांसदहरूसँग लिखित जवाफ माग गरेको छ।
काठमाडौं, मंसिर २६ : अदालतको अवहेलनासम्वन्धी मुद्दामा सर्वोच्च अदालतले राष्ट्रिय स्वतन्त्र पार्टीका केन्द्रीय पदाधिकारी एवं सांसदहरूसँग लिखित जवाफ माग गरेको छ।
सर्वोच्चले अदालतको अवहेलनामा कारबाही गर्नुनपर्ने कारण भए जवाफ पेश गर्न भनिएको छ ।
सहकारी ठगी प्रकरणमा पक्राउ परेका पूर्वगृहमन्त्री रवि लामिछानेको विषयमा अदालतमा भएको प्रदर्शनलाई लिएर अवहेलना मुद्दा दर्ता भएको थियो।
उक्त मुद्दामा मंगलबार भएको प्रारम्भिक सुनुवाइपछि न्यायाधीश विनोद शर्मा र महेश शर्मा पौडेलको संयुक्त इजलासले उनीहरूसँग जवाफ मागेको हो।
अदालतको अवहेलनाको कारबाहीको माग गर्दै अधिवक्ता अनुपम भट्टराईले सर्वोच्च अदालतमा मुद्दा दिएका हुन् । अवहेलना मुद्दामा अदालतमा विचाराधीन मुद्दालाई प्रभावित पार्न खोजेको आरोप लगाइएको छ ।
रास्वपाका सबै केन्द्रीय पदाधिकारीसहित २० जना सांसदलाई अवहेलनामा कारबाहीको माग छ । अब सर्वोच्चबाट लिखित जवाफ माग भएसँगै उनीहरुले अवहेलना मुद्दामा तारिख खेप्नुपर्ने भएको छ ।












